शशांक कोइराला सभापतिमा इच्छुक, शेखर उठे सहयोग गर्ने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी सभापति बन्न इच्छुक रहेको बताएका छन्। तर, डा. शेखर कोइराला सभापतिमा उम्मेदवार बने आफूले सहयोग गर्ने उनले स्पष्ट पारेका छन्।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा नेपालवान एचडीसँग कुरा गर्दै डा. शशांकले सभापतिका लागि आफ्नो इच्छा भए पनि पार्टीका नेता तथा कार्यकर्ताको धारणा सुनेपछि मात्रै निर्णय लिने बताए।
‘पार्टी सभापतिका लागि पनि इच्छुक त छु, तर मैले इच्छा मात्रै गरेर भएन। पार्टीका साथीहरूको के भनाइ छ, पहिले त्यो सुन्नुपर्यो। अनि निर्णय गर्छु,’ उनले भने।
डा. शेखर कोइराला पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावनाबारे गरिएको प्रश्नमा शशांकले आफूहरूबीच राम्रो समझदारी रहेको बताए। शेखर सभापतिमा उठे आफूले सहयोग गर्ने उनको भनाइ थियो।
‘हाम्रोबीचमा धेरै राम्रो अन्डरस्ट्यान्डिङ छ। उहाँ उठ्नुभयो भने ठीकै छ, म सहयोग गरिहाल्छु,’ उनले भने।
डा. शशांकले कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बताए। आगामी महाधिवेशन वर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा हुने उनको भनाइ थियो।
यसैबीच, संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा नहुने पनि उनले स्पष्ट पारे। पार्टी विभाजन गर्ने उद्देश्यले भेला आयोजना नगरिएको भन्दै उनले कांग्रेसलाई थप व्यवस्थित र सुदृढ बनाउँदै अघि बढाउनुपर्ने धारणा राखे।
‘नयाँ पार्टी खोल्नका लागि होइन यो भेला। हामीले समय-समयमा परिमार्जित गर्दै जानुपर्छ। यस्तै भेलाले परिमार्जित गर्दै जान्छ,’ उनले भने।
आफू पार्टी विभाजनको पक्षमा नरहेको दोहोर्याउँदै शशांकले कांग्रेसलाई एकीकृत बनाएर अघि बढाउनुपर्ने बताए। ‘म पार्टी फुटाउने पक्षमा बिल्कुलै छैन,’ उनले स्पष्ट पारे।
राष्ट्रिय भेलाले कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउन सहयोग गर्ने उनको दाबी छ। उनले कांग्रेसलाई नयाँ, संगठित र स्पष्ट दिशासहित अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
‘नयाँ कांग्रेस, संगठित कांग्रेस, नयाँ दिशातर्फ जान्छ कांग्रेस,’ उनले भने।
अब कांग्रेसले सैद्धान्तिक बहसभन्दा विकासका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने पनि डा. शशांकको धारणा छ। कांग्रेस मात्र नभई सबै राजनीतिक दलले मुलुकको विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताए।
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला शुक्रबारदेखि सुरु भएको हो। भेलाको बन्दसत्रमा कांग्रेस नेताहरूले प्रस्तुत गरेका विभिन्न दस्तावेजमाथि समूहगत छलफल भइरहेको छ। तीन दिनसम्म चल्ने भेला आइतबार सम्पन्न हुनेछ।
