`

देउवापक्षीय नेताको विद्रोहको संकेतले कांग्रेसमा बढ्यो विभाजनको खतरा

Nepal One HD ३० साउन २०८३ १८:१४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्वको विवाद फेरि चर्किएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापालाई निवर्तमान सभापति शेरबहादुर देउवापक्षीय नेताहरूले सभापति मान्न अस्वीकार गरेपछि कांग्रेसभित्रको विवाद नयाँ मोडमा पुगेको छ।

देउवा सिंगापुरबाट हङकङ हुँदै नेपाल फर्किएलगत्तै उनीपक्षीय नेताहरूले गगन थापाको नेतृत्वमाथि प्रश्न उठाउँदै देउवा नै कांग्रेसको सभापति भएको दाबी गर्न थालेका हुन्। कृष्णप्रसाद सिटौला, मोहनबहादुर बस्नेत, विमलेन्द्र निधि र एनपी साउदलगायत देउवानिकट नेताहरूले गगनलाई सभापति स्वीकार नगर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन्।

२०८२ सालको पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए। सोही प्रक्रियाबाट देउवा सभापतिबाट हटाइएका थिए। त्यसपछि गगन नेतृत्वको कांग्रेसले आफूलाई वैधानिक र आधिकारिक पार्टीका रूपमा अघि बढाउँदै आएको छ। तर देउवा पक्षले भने विशेष महाधिवेशनको प्रक्रिया र त्यसबाट भएको नेतृत्व परिवर्तनमाथि नै प्रश्न उठाउँदै आएको छ।

देउवा स्वदेश फर्किएपछि यो विवाद अझ सतहमा आएको हो। देउवापक्षीय नेताहरूले गगनलाई पार्टी सभापति भन्नसमेत आफूहरूलाई अप्ठ्यारो लाग्ने बताएका छन्।

नेता कृष्णप्रसाद सिटौलाले गगनलाई सभापति भन्दा पनि भाइ भन्न मन लाग्ने टिप्पणी गरेका छन्। गगनलाई पार्टीको सर्वोच्च नेतृत्वमा स्वीकार गर्न नसकिने संकेत गर्दै उनले देउवाको नेतृत्वप्रति आफ्नो समर्थन कायमै रहेको स्पष्ट पारे। ‘गगनलाई त सभापति होइन, भाइ भन्न मन लाग्छ,’सिटौला भन्छन्।  

त्यस्तै, नेता मोहनबहादुर बस्नेतले पनि कांग्रेसको नेतृत्वका लागि देउवा नै आवश्यक रहेको दाबी गरेका छन्। उनले ‘बोकाले दाइँ हुने भए गोरु नचाहिने’ उखानको उदाहरण दिँदै पार्टी सञ्चालनका लागि परिपक्व र अनुभवी नेतृत्व आवश्यक रहेको बताए।’बोकाले दाइँ हुने भए गोरु चाहिँदैन।’

बस्नेतले देउवा नेतृत्वमा रहँदा कांग्रेसले स्थानीय तहदेखि प्रदेश र संघीय संसदसम्म राम्रो राजनीतिक उपस्थिति बनाउन सफल भएको दाबी गरे। तर गगनको नेतृत्वमा कांग्रेस कमजोर र अस्तव्यस्त बनेको उनको आरोप छ।

उनका अनुसार कांग्रेसलाई पुनः बलियो बनाउन देउवाकै नेतृत्व आवश्यक छ। गगनको नेतृत्वलाई स्वीकार गर्दा पार्टी थप कमजोर हुने उनको तर्क छ।

अर्का देउवापक्षीय नेता विमलेन्द्र निधिले त गगन थापाले ‘अवैध’ र ‘धोकाधडीपूर्ण’ ढंगबाट पार्टी कब्जा गरेको गम्भीर आरोप लगाएका छन्। विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनलाई वैधानिक मान्न नसकिने उनको दाबी छ। त्यसैले गगनलाई सभापति स्वीकार नगर्ने धारणा निधिले पनि सार्वजनिक गरेका छन्।

यसले कांग्रेसभित्रको विवाद केवल नेतृत्व परिवर्तनको विषयमा सीमित नरही पार्टीको आधिकारिकता र वैधानिकतासम्म पुगेको देखिएको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतबाट गगन नेतृत्वको कांग्रेसले यसअघि नै आधिकारिकता पाइसकेको दाबी गरिए पनि देउवापक्षीय नेताहरूले त्यसलाई व्यवहारतः स्वीकार नगरेका हुन्।

नेता एनपी साउदले पनि गगनलाई कांग्रेस सभापति मान्न नसकिने धारणा व्यक्त गरेका छन्। देउवा स्वदेश फर्किएपछि पार्टी एकताबद्ध हुने अपेक्षा गरिए पनि अहिलेको अवस्था हेर्दा कांग्रेस एकताभन्दा विभाजनतर्फ उन्मुख भएको देखिएको उनको भनाइ छ।

कांग्रेस नेता तथा राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले आफू सभापतिका लागि इच्छुक भए पनि पार्टी फुटाउने पक्षमा नरहेको बताएका थिए। काठमाडौंमा जारी संस्थापन इतर समूहको राष्ट्रिय भेलामा बोल्दै उनले नयाँ पार्टी खोल्ने उद्देश्यले भेला आयोजना नगरिएको स्पष्ट पारे।

‘म पार्टी फुटाउने पक्षमा बिल्कुलै छैन। नयाँ पार्टी खोल्नका लागि होइन यो भेला। हामीले समयऔसमयमा परिमार्जन गर्दै जानुपर्छ। यस्तै भेलाले परिमार्जित गर्दै जान्छ। नयाँ कांग्रेस, संगठित कांग्रेस, नयाँ दिशातर्फ जान्छ कांग्रेस,’ शशांकले भनेका छन्।

तर, कांग्रेसभित्रको पछिल्लो शक्ति संघर्षले उनको एकताको सन्देश व्यवहारमा कार्यान्वयन हुन कठिन देखिएको छ। एकातिर गगन नेतृत्वलाई वैधानिक भन्दै नयाँ संरचनाअनुसार पार्टी अघि बढाउने प्रयास भइरहेको छ भने अर्कोतिर देउवा पक्षले गगनलाई नै सभापति मान्न अस्वीकार गरिरहेको छ।

यसबीच नेपालको राजनीतिक समीकरणसमेत तीव्र रूपमा बदलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी झण्डै दुई तिहाइ नजिकको बहुमतसहित सरकार सञ्चालन गरिरहेको अवस्थामा कमजोर बनेका कम्युनिस्ट शक्तिहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको प्रयास अघि बढिरहेको छ।

तर देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने नेतृत्व विवादमा फस्दै गएको छ। नेतृत्वको वैधानिकता, विशेष महाधिवेशनको प्रक्रिया र देउवाऔगगन पक्षबीचको टकराव तत्काल समाधान नभए कांग्रेस औपचारिक विभाजनको दिशातर्फ समेत जान सक्ने आशंका बढेको छ।

कांग्रेस जुट्छ कि फुट्छ भन्ने प्रश्नको ठोस उत्तर अहिले नै दिन कठिन भए पनि पछिल्ला अभिव्यक्तिले पार्टीभित्रको दूरी झन् गहिरिँदै गएको संकेत गरेका छन्। एकातिर गगन पक्ष आफ्नो वैधानिक नेतृत्वबाट पछि नहट्ने अवस्थामा छ भने अर्कोतिर देउवा पक्ष पनि देउवालाई नै कांग्रेसको वास्तविक सभापति दाबी गर्दै अघि बढिरहेको छ।

यस्तो अवस्थामा कांग्रेसभित्रको शक्ति संघर्षले आगामी राजनीतिक समीकरणमा समेत प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *