`

क्रेन नहुँदा महाकाली राजमार्ग अवरुद्ध

Nepal One HD ३१ साउन २०८३ १२:४४
प्रमुख खबर

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिकामा ट्रेलर सडकबाट लिक बाहिर गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ।

मधेस प्रदेश ०३ ००२ ख ४२३१ नम्बरको ट्रेलर बिहान करिब साढे ९ बजेतिर सडकबाट बाहिरिएर राजमार्गमै अड्किएको हो। ट्रेलर हटाउन आवश्यक क्रेन उपलब्ध नहुँदा लामो समयदेखि सडक सञ्चालनमा आउन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार उक्त ट्रेलर दार्चुलास्थित मार्मा हाइड्रोपावरका लागि फलामका पाता बोकेर गइरहेको थियो। दोगडाकेदार क्षेत्रमा पुगेपछि ट्रेलर सडकबाट लिक बाहिरिएर राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए।

सडक डिभिजन कार्यालयका प्रमुख किरण सुवेदीका अनुसार लोडसहितको ट्रेलर हटाउन ठूलो क्षमताको क्रेन आवश्यक पर्ने भएकाले कार्यालयको उपकरणबाट तत्काल हटाउन सम्भव छैन।

उनका अनुसार सम्बन्धित हाइड्रोपावर कम्पनीलाई आफ्नै व्यवस्थापनमा क्रेन ल्याएर ट्रेलर हटाउन भनिएको छ।

राजमार्ग अवरुद्ध भएपछि दार्चुलाबाट छुटेका छोटो तथा लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन्।

सडक खुलाउन ट्रेलर हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *