`

‘म हिन्दू धर्म मान्छु, तर कसैको विरोधमा छैन’

Nepal One HD ३१ साउन २०८३ १३:५७
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्मप्रति आस्था राख्ने व्यक्ति भएको बताएका छन्।

उनले आफ्नो धार्मिक विश्वासलाई लिएर कुनै भ्रम नराख्न आग्रह गर्दै आफू अन्य धर्म वा समुदायको विरोधी नभएको स्पष्ट पारेका छन्।

कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले नेपाल विभिन्न धर्म र समुदायको साझा देश भएकाले सबैको आस्थाको सम्मान हुनुपर्ने धारणा राखे।

आफू हिन्दू धर्म मान्ने भए पनि त्यसको अर्थ अन्य धर्मप्रति विरोध नरहेको उनको भनाइ थियो। नेपालमा मुस्लिम, किराँतलगायत विभिन्न धार्मिक समुदायको बसोबास रहेको उल्लेख गर्दै उनले सबैप्रति आफ्नो सम्मान रहेको बताए।

देउवाले आफ्नो व्यक्तिगत धार्मिक आस्था व्यक्त गर्ने अधिकारसमेत आफूलाई हुनुपर्ने बताए। उनले आफू हिन्दू भएको र हिन्दू धर्ममा विश्वास गर्ने कुरा खुला रूपमा भन्न पाउनुपर्नेमा जोड दिए।

आफू हिन्दू भए पनि कुनै धर्म वा समुदायको खिलाफमा नरहेको र यस विषयमा अनावश्यक भ्रम सिर्जना गर्न नहुने उनको भनाइ थियो।

देउवाको अभिव्यक्ति कांग्रेसभित्र धार्मिक आस्था र धर्मनिरपेक्षतासम्बन्धी बहस भइरहेका बेला आएको हो।

उनले व्यक्तिगत धार्मिक विश्वास र अन्य धर्मप्रतिको सम्मानलाई अलग विषयका रूपमा बुझ्नुपर्ने सन्देश दिएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *