ज्वरो आउने बित्तिकै हेलिकप्टर!
काठमाडाैं। अनुगमन र पार्टी कार्यक्रमका सिलसिलामा बैतडी पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल बैतडीमा बिरामी परे। उनलाई त्यहाँ सामान्य ज्वरो, रुघाखोकी र टाउको दुख्ने समस्या देखिएको थियो– मन्त्री लम्सालसँगै कार्यक्रममा सहभागी एक जना बताउँछन्।
सामान्य बिरामी परेकै अवस्थामा लम्सालले हेलिकप्टर चार्टर गरे र काठमाडौं हानिए। यो सरकार गठन हुनुभन्दा अगाडि मन्त्री लम्सालकै टिमका नेताहरूले गाडी चढेर हिँड्दा पनि गालीको वर्षा गराउने टोलीमा पर्थे। तर ‘आफूलाई नपरी थाहा हुँदैन’ भन्ने नेपाली उखानसँग मिल्ने गरी मन्त्री लम्साललाई आफूलाई ज्वरो आउँदा भने हेलिकप्टर नै चार्टर गर्नुपर्ने अवस्था सिर्जना भयो।
यो घटनाप्रति सार्वजनिक वृत्तबाट विभिन्न किसिमका टिप्पणी भइरहेका छन्। कतिपयले जनता भने ग्यास, पासपोर्ट, लाइसेन्सका लागि, अस्पतालमा कुपनका लागि र किसान मलका लागि लाइन बस्नुपर्ने, तर मन्त्री भएकै भरमा केहीले भने सरकारी सम्पत्तिमाथि रजगज गरिरहेको भन्दै आलोचना गरिरहेका छन्।
अर्कोतिर, सुदूरपश्चिममै राम्रा अस्पताल छन्। अझ मन्त्री लम्साल पनि सहभागी देश बनाउने टोलीले नदेखेको र ‘३५ वर्षमा केही पनि भएन’ भन्ने भाष्यको ठीक विपरीत नेपालका ७७ वटै जिल्लामा राम्रा अस्पताल पनि छन्। अझ पालिका–पालिकामा र वडा–वडामा अस्पताल छन्, जहाँ ज्वरो, टाउको दुखेको, रुघा लागेको जस्ता सामान्य बिरामीको सहजै उपचार हुन्छ।
धनगढीमै सेती प्रादेशिक अस्पताल छ, जहाँ लम्सालभन्दा गम्भीर प्रकृतिका लाखौँ बिरामीले उपचार गराउँछन्। तर लम्साल भने हेलिकप्टर चढेर काठमाडौं हुइँकिए र आवश्यक नभएको तामझाम देखाए भन्दै अहिले उनको चौतर्फी आलोचना भइरहेको छ।
