भदौमा टीओबीले लुटेको हात हतियार तिब्बती गुम्बा भएको बादलको दाबी
काठमाडौं। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारको कार्यकाल छोटो भए पनि राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर सङ्कट देखिएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले सरकारको विदेश नीति तथा राष्ट्रिय सुरक्षा रणनीतिमाथि प्रश्न उठाउँदै पछिल्लो समय नेपालको कूटनीतिक अभ्यासमा ‘खतरनाक विचलन’ देखिएको दाबी गरे।
उनले विशेषगरी नेपालमा तिब्बती मामिला र दलाई लामासँग सम्बन्धित गतिविधिप्रति सरकारले अपनाएको नीतिको आलोचना गरे।
बादलका अनुसार सरकारले तिब्बती धार्मिक संस्था तथा पश्चिमी कूटनीतिज्ञलाई दलाई लामाको जन्मोत्सव मनाउने नाममा नेपालमा राजनीतिक गतिविधि गर्न अनुमति दिएको छ।
‘हालै सरकारले टीओबी तथा पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सव मनाउने बहानामा खुलेआम राजनीतिक चलखेल गर्न अनुमति दिएको छ,’ उनले भने।
बादलले गत भदौमा भएको सत्ता परिवर्तनको प्रसङ्ग जोड्दै उक्त घटनामा दलाई लामाको पक्षबाट बधाई तथा शुभकामना आएको र तिब्बती पक्षसँग सम्बन्धित समूहको सक्रियता रहेको दाबी गरे। उनले त्यसबेला भएका घटनाप्रति चीन सरकारले गम्भीर चासो व्यक्त गरेको र नेपाललाई चेतावनीसमेत दिएको जिकिर गरे।
उनले चीनको आपत्तिपछि नेपालमा आयोजना गर्ने भनिएको एक अन्तर्राष्ट्रिय सम्मेलन स्थगित भएको दाबीसमेत गरे।
यद्यपि, उनले सम्मेलन कुन हो र स्थगनको औपचारिक कारण के हो भन्नेबारे विस्तृत विवरण भने दिएनन्।
बादलले तिब्बती शरणार्थी र नेपालमा रहेका तिब्बती गुम्बाहरूको गतिविधिप्रति समेत सुरक्षा चासो व्यक्त गरे। केही शोधकर्ताले तिब्बती गुम्बामा ठूलो मात्रामा ‘शक्ति सङ्ग्रह’ भइरहेको दाबी गरेको उल्लेख गर्दै उनले थप अनुसन्धान आवश्यक रहेको बताए।
उनले गत भदौमा भएका हिंसात्मक घटनाका क्रममा लुटिएका हतियारसमेत तिब्बती गुम्बामा लुकाइएको हुनसक्ने आशङ्का केही पक्षले गरेको बताए।
‘कतिपय शोधकर्ताहरूले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको दाबी गरेका छन्। कतिपयले त भदौमा लुटिएका हतियारहरू त्यहाँ लुकाइएको समेत आशङ्का गरेका छन्,’ बादलले भने।
नेपालले निर्वासित तिब्बतीलाई मानवीय आधारमा शरण दिएको उल्लेख गर्दै उनले उनीहरूलाई नेपालले राजनीतिक शरणार्थीका रूपमा मान्यता नदिएको बताए।
