बालेन सरकारमाथि महेश बस्नेतको प्रहार : जनता असुरक्षित, सरकार स्टन्टमा
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार तथा आपराधिक घटनालाई लिएर बालेन नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् ।
बस्नेतले नागरिकले बिहान आँखा खुल्नेबित्तिकै हत्या, हिंसा, बलात्कार, झडप र अपराधका समाचार सुन्नुपर्ने अवस्था बने पनि सरकार नागरिकको सुरक्षाप्रति गम्भीर नदेखिएको आरोप लगाए ।
बाराको जीतपुर–सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा रामेछापमा ६१ वर्षीया महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै उनले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका हुन् ।
उनले भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा कारागारबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएको र त्यस क्रममा लुटिएका हतियारसमेत अझै व्यवस्थापन हुन नसकेको विषयलाई सरकारको गम्भीर कमजोरीका रूपमा औँल्याएका छन् ।
‘नागरिकको सुरक्षाका लागि राज्य कहाँ छ ? फरार कैदीको खोजी, लुटिएका हतियारको व्यवस्थापन र कानूनको प्रभावकारी कार्यान्वयनमा सरकार किन गम्भीर छैन ?’ बस्नेतले बिहीबार फेसबुकमा लेखेका छन् ।
उनले सरकारसँग जनताले भाषण र प्रचार नभई प्रत्यक्ष सुरक्षा र सुशासन खोजिरहेको बताए ।
‘जनतालाई स्टन्ट होइन, सुरक्षा र सुशासन चाहिएको छ,’ बस्नेतले भनेका छन्, ‘यो सरकार अब भाषण र प्रचारमा होइन, नागरिकको सुरक्षामा देखिनुपर्छ।’
बस्नेतले पीडित आफैँ न्यायको माग गर्दै सडक र माइतीघर पुग्नुपर्ने अवस्था आउनु राज्यका लागि गम्भीर प्रश्न भएको बताए । उनले अपराध नियन्त्रण र नागरिकको सुरक्षाका विषयमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको आरोप लगाए ।
प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीको भूमिकामाथि समेत प्रश्न उठाउँदै बस्नेतले नागरिक सुरक्षालाई सरकारको पहिलो प्राथमिकता बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनको भनाइले पछिल्लो समय बढ्दै गएको आपराधिक घटनालाई लिएर सरकारमाथि प्रतिपक्षी दलबाट थप दबाब बढ्ने संकेत गरेको छ ।
