‘कांग्रेस फुट्छ कि जुट्छ, गगनजीहरूलाई नै थाहा छ’
काठमाडौं। नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किरहेका बेला संस्थापन इतर पक्षका नेता रमेश लेखकले पार्टीको भविष्य सभापति गगन थापा पक्षको भूमिकामा निर्भर रहेको टिप्पणी गरेका छन्।
कांग्रेस विभाजन हुन्छ कि विवाद समाधान गरेर एकताबद्ध हुन्छ भन्ने प्रश्नमा लेखकले यसको जवाफ गगन थापा पक्षलाई नै थाहा भएको बताए।
‘कांग्रेस फुट्छ कि जुट्छ, गगनजीहरूलाई नै थाहा छ। उहाँहरूले फुटाउनुहुन्छ कि जुटाउनुहुन्छ,’ लेखकले भने।
लेखकले पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किएको एक साता बितिसक्दा पनि गगन थापा पक्षका शीर्ष नेताहरूले उनको स्वास्थ्य अवस्था र हालखबर बुझ्न नजानुलाई समेत अर्थपूर्ण रूपमा लिनुपर्ने बताए।
‘पूर्वसभापति शेरबहादुर देउवा नेपाल आउनुभएको एक साता बितिसकेको छ। अहिलेसम्म शीर्ष नेताको हालखबर र स्वास्थ्य अवस्था सोध्न उहाँहरू जानुभएको छैन भने उहाँहरू कुन दिशामा हुनुहुन्छ, आफैँ विश्लेषण गरौँ,’ उनले भने।
लेखकका अनुसार आफूहरू पार्टीभित्रको विवाद समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने प्रयासमा छन्। तर अर्को पक्ष त्यसका लागि आवश्यक लचकता देखाउन तयार नभएको उनको आरोप छ।
उनले पार्टीभित्र देखिएको विवादको कानुनी पक्षसमेत अदालतमा पुगेकाले अब अदालतको निर्णयपछि राजनीतिक परिस्थितिले स्पष्ट दिशा लिने बताए।
कांग्रेसको आधिकारिकता र पार्टी सञ्चालनसँग जोडिएका विषयमा विवाद बढ्दै गएपछि त्यसको पुनरावलोकनको मागसहित कानुनी प्रक्रिया अघि बढाइएको छ। अदालतबाट आउने निर्णयले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक प्रक्रियामा प्रभाव पार्ने देखिएको छ।
पछिल्लो समय कांग्रेसभित्र नेतृत्व, पार्टी सञ्चालन, महाधिवेशन तथा सांगठनिक संरचनालगायत विषयमा नेताहरूबीच मतभेद बढ्दै गएको छ। संस्थापन र इतर पक्षबीचको विवाद सार्वजनिक रूपमा समेत छताछुल्ल हुन थालेपछि पार्टी एकता कायम रहने वा विभाजनको अवस्था आउने भन्नेबारे राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।
यहीबीच लेखकको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्रको विवाद तत्काल समाधान हुनेभन्दा पनि दुवै पक्षबीचको राजनीतिक दूरी कायमै रहेको संकेत गरेको छ।
यद्यपि अदालतको निर्णय र त्यसपछि शीर्ष नेताहरूबीच हुने संवादले पार्टीको आगामी दिशा निर्धारण गर्ने सम्भावना रहेको नेताहरूको भनाइ छ।
