`

‘यस्ता बारुलासँग केपी ओली डराउदैन’

Nepal One HD ६ भदौ २०८३ १५:०१
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै आफू र आफ्ना समर्थकहरूलाई दबाबमा पार्न राज्यशक्तिको दुरुपयोग भइरहेको आरोप लगाएका छन्।

नगरकोटमा आयोजित जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले सरकार आलोचक र विरोधीलाई कमजोर बनाउने उद्देश्यले विभिन्न किसिमका दबाब र कारबाहीको रणनीति अपनाइरहेको दाबी गरे। उनले बदनाम गर्ने, पक्राउ गर्ने, सम्पत्ति जफत गर्ने तथा बैंक खाता रोक्का गर्नेजस्ता गतिविधिबाट मानिसलाई आर्थिक र मानसिक रूपमा दबाबमा पार्न खोजिएको आरोप लगाए।

ओलीले कुनै व्यक्ति वा व्यवसायीको कारोबार रोकिँदा त्यसको असर एउटा व्यक्तिमा मात्र सीमित नहुने बताए। कारोबार रोकिएपछि उद्योग–व्यवसाय प्रभावित हुने, मजदुरले पारिश्रमिक पाउन नसक्ने, बैंकको ऋण बढ्दै जाने र घरभाडासहित दैनिक आर्थिक दायित्व धान्न कठिन हुने उनको भनाइ थियो।

उनका अनुसार व्यवसाय सञ्चालन गर्न नपाउँदा उद्योगमा रहेका मेसिन तथा औजारसमेत निष्क्रिय भएर खिया लाग्ने अवस्था आउन सक्छ। एकातिर आम्दानीको बाटो बन्द हुने र अर्कोतिर बैंकको ब्याज तथा अन्य दायित्व बढ्दै जाने भएकाले यस्तो कदमले सम्बन्धित व्यक्तिलाई गम्भीर आर्थिक संकटमा धकेल्ने ओलीले बताए।

आफूलाई पक्राउ गरेर अरूलाई समेत त्रसित बनाउने प्रयास भएको ओलीको आरोप थियो। आफू विगतमा अनेक राजनीतिक दबाब र चुनौती सामना गर्दै आएको उल्लेख गर्दै उनले यस्ता गतिविधिबाट आफू नडराउने बताए।

‘मैले यस्ता बारुला मात्रै होइन, कति अरिङ्गाल खाएको छु। यी बारुलासँग म डराउँछु भन्ने कुरा उनीहरूलाई पनि लाग्दैन। तर अरूलाई तर्साउनका लागि केपी ओलीलाई समातेर थुनियो भने अरूको के हुन्छ भनेर थर्कमान बनाउन खोजियो,’ उनले भने।

ओलीले आफूहरूलाई दबाबमा पार्ने प्रयास क्षणिक पीडाजस्तो मात्र भएको टिप्पणी गर्दै यस्ता शक्तिका कारण देशलाई सधैँ उनीहरूको जिम्मामा छाड्न नसकिने बताए।

उनले मुलुकलाई पुनः सुशासन र विकासको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। साथै नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने, छिमेकी मुलुकसँगको सम्बन्धलाई सुधार गर्दै परराष्ट्र नीतिलाई समेत सही दिशामा फर्काउनुपर्नेमा उनले जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *