बेलग्रेडमा हुने असंलग्न आन्दोलनको स्मरणसभामा नेपाल सहभागी हुँदै
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने भएको छ।
आगामी भदौ १५ र १६ गते आयोजना हुने स्मरणसभामा मन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुने निर्णय सरकारले गरेको हो।
मन्त्रिपरिषद्ले गत साउन २६ गते प्रतिनिधिमण्डल गठन गरी स्मरणसभामा सहभागी हुने निर्णय गरेको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय स्मरणसभामा सहभागी हुन मन्त्री खनाल भदौ १४ गते साँझ सर्बिया प्रस्थान गर्ने कार्यक्रम छ। उनी भदौ १७ गते नेपाल फर्किनेछन्।
सन् १९६१ मा असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन बेलग्रेडमै आयोजना भएको थियो। पहिलो शिखर सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष सोही सहरमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो।
स्मरणसभामा विश्वका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख, उच्चस्तरीय प्रतिनिधिमण्डल र असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रममा विश्व राजनीतिमा असंलग्न आन्दोलनको भूमिका, वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति तथा सदस्य राष्ट्रबीचको सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपालले लामो समयदेखि आफ्नो परराष्ट्र नीतिको महत्वपूर्ण आधारका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ। नेपालको संविधानले समेत राष्ट्रिय हित, सार्वभौमिक समानता तथा असंलग्नताका सिद्धान्तलाई परराष्ट्र नीति सञ्चालनका आधारका रूपमा स्वीकार गरेको छ।
नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि विभिन्न शिखर सम्मेलन, मन्त्रीस्तरीय बैठक तथा अन्य उच्चस्तरीय कार्यक्रममा निरन्तर सहभागिता जनाउँदै आएको छ। आन्दोलनका गतिविधिमा नेपालले रचनात्मक भूमिका निर्वाह गर्दै आएको परराष्ट्र मन्त्रालयको भनाइ छ।
बेलग्रेडमा हुने यसपटकको स्मरणसभालाई नेपालले आफ्नो परम्परागत असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिबद्धता दोहोर्याउने तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा राख्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ।
बदलिँदो विश्व भूराजनीतिक परिस्थिति, शक्ति राष्ट्रबीच बढ्दो प्रतिस्पर्धा र विभिन्न क्षेत्रमा देखिएको तनावका बीच असंलग्न आन्दोलनको सान्दर्भिकतामाथि समेत पछिल्लो समय बहस हुँदै आएको छ।
