परराष्ट्रमन्त्री खनाल सर्बिया नजाने
काठमाडौं । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो सर्बिया भ्रमण स्थगित गरेका छन् ।
मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो । बेलग्रेडमा भदौ १५ र १६ गते अर्थात् अगस्ट ३१ र सेप्टेम्बर १ मा उक्त कार्यक्रम आयोजना हुँदै छ ।
मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलले कार्यक्रममा सहभागिता जनाउने तयारी थियो । तर, मुलुकका विभिन्न क्षेत्रमा बाढीबाट ठूलो क्षति भएपछि मन्त्री खनालले भ्रमणमा नजाने निर्णय गरेका हुन् ।
अब उक्त कार्यक्रममा नेपालको प्रतिनिधित्व परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले गर्ने भएका छन् ।
ढकालको नेतृत्वमा दुई सदस्यीय नेपाली प्रतिनिधिमण्डल बेलग्रेड जानेछ ।
