`

ओलीले भने- भाेटेकाेशी बाढीपछि कसैको हात मात्रै भेटिएकाे छ (भिडियाे)

Nepal One HD १४ भदौ २०८३ १९:०५
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी र त्रिशूली बाढीबाट भएको मानवीय क्षतिको अवस्था अत्यन्तै दर्दनाक रहेको बताएका छन्।

उनले बाढीबाट बाँचेकाहरूलाई सामान्य जीवनमा फर्काउन तत्काल दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष ओलीले कतिपय मृतकको शवसमेत पूर्ण अवस्थामा फेला नपरेको उल्लेख गरे।

‘एक जना महिलाको हात मात्रै फेला परेछ। कसैको नाम खोपिएको रहेछ। फलानाको हातमा मेरो नाम खोपिएको थियो भन्ने मान्छे फेला परेपछि ती महिलाको पहिचान भयो,’ ओलीले भने, ‘हात मात्रै फेला पर्यो। बाँकी छैन।’

उनले बाढीपछि शवको अवस्था निकै दर्दनाक रहेको बताए। ‘कसैको टाउको मात्रै भेटिएको छ। कसैको खुट्टा मात्रै छ। त्यस्तो दर्दनाक अवस्था छ,’ उनले भने।

ओलीले उद्धार र राहतसँगै विपद्बाट बाँचेकाहरूको पुनःस्थापना तथा रोजगारीका लागि विशेष योजना आवश्यक रहेको बताए।

‘अब बाँचेकालाई सामान्य जीवनमा कसरी फर्काउने? यी गम्भीर समस्याका रूपमा रहेका छन्,’ उनले भने, ‘त्यसकारण एमालेले योजना नै बनाउनुपर्छ।’

बाढी प्रभावितलाई उत्पादनसँग जोड्ने, उद्यम तथा स्टार्टअपमा सहभागी गराउनेलगायतका विकल्पमा सोच्नुपर्ने ओलीको भनाइ छ। ‘कुनै उत्पादन गर्न लगाउने कि? स्टार्टअपमा लगाउने कि? प्रदेश सरकारले पनि यसबारे सोचोस्,’ उनले भने।

ओलीले विपद्पछि प्रभावित परिवारलाई तत्काल राहत दिने मात्रै नभई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने नीति आवश्यक रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *