‘ग्रीन आर्मी नेपाल’को गतिविधिमाथि शंकर पोखरेलको प्रश्न, सरकारसँग मागे स्पष्ट जवाफ
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको गठन, गतिविधि र वैधतामाथि गम्भीर प्रश्न उठाएका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत विद्यालय तहदेखि ५२ जिल्लासम्म संगठन विस्तार भएको दाबी गरिएको उक्त संस्थाको आर्थिक तथा सञ्चालन स्रोतबारे स्पष्ट पार्नुपर्ने बताएका छन्।
उनका अनुसार ‘ग्रीन आर्मी’लाई नेपाली सेनाले तालिम दिएको दाबी गर्दै विभिन्न तस्बिरसमेत सार्वजनिक भएका छन्। यही विषयलाई लिएर पोखरेलले विद्यालयमा राष्ट्रिय सेवा दलको व्यवस्था हुँदाहुँदै सेनाको स्वरूप झल्किने अर्को संगठन कसरी गठन भयो भन्ने प्रश्न गरेका छन्।
उनले भनेका छन्, ‘नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल गठन गर्ने कुरा त सबैलाई थाहा थियो। तर सेवा दलको सट्टा ‘ग्रीन आर्मी’ बनाउन थालिएको हो? यदि होइन भने, सेनाजस्तै देखिने यस प्रकृतिको संगठन खोल्न र संगठित हुन दिनु कत्तिको उचित हो?’
यसबारे सरकारले आधिकारिक रूपमा स्पष्ट पार्नुपर्ने उनको माग छ।
विपद् उद्धारका लागि गठन गरिएको भनिएको उक्त संस्थाको भूमिकामाथि समेत पोखरेलले प्रश्न उठाएका छन्। देश गम्भीर विपद्को सामना गरिरहेका बेला संगठनको उपस्थिति कहाँ थियो भन्ने विषयमा उनले चासो व्यक्त गरेका हुन्।
विपद्को जोखिम कम हुँदै गएपछि मात्रै उक्त संस्था अचानक सक्रिय भएको देखिनुले थप शंका उत्पन्न गरेको पोखरेलको भनाइ छ। यस्ता गतिविधिले राहत तथा उद्धारमा सहयोग पुर्याउनुभन्दा समाजमा अन्योल, सन्देह र त्रास बढाउन सक्ने भन्दै उनले सम्बन्धित सरकारी निकायले तत्काल यस विषयमा छानबिन तथा स्पष्टता दिनुपर्ने बताएका छन्।
