‘सुरुङको अवरोध हटाउन तीन/चार महिना लाग्छ’ [भिडियो]
बिशेष
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि जलविद्युत् आयोजनाका सुरुङमा थुप्रिएको माटो, ढुंगा र अन्य सामग्री हटाएर खोजी तथा उद्धार अघि बढाउन लामो समय लाग्ने नेपाली सेनाले जनाएको छ।
धुन्चे उत्तरको फिल्ड अपरेसन कमाण्ड सम्हालिरहेका नेपाली सेनाका अधिकारी उज्वलविक्रम राणाका अनुसार सुरुङभित्रको अवस्था निकै जटिल रहेकाले केही दिनमै अवरोध हटाएर उद्धार कार्य सहज बनाउने अवस्था छैन।
सुरुङमा थुप्रिएको सामग्रीको मात्रा अत्यधिक रहेकाले त्यसलाई पूर्ण रूपमा हटाउन तीनदेखि चार महिनासम्म लाग्न सक्ने उनले बताए। ‘टनेलभित्र जम्मै जमेका कुराहरू निकाल्न दुई–तीन दिनमै हुन सक्ने सम्भावना देख्दिनँ। त्यसलाई तीनदेखि चार महिनामा पनि निकाल्न नसकिने अवस्था मैले आफैंले देखेको छु,’ उनले भने।
उनका अनुसार सुरुङको वास्तविक अवस्था प्रत्यक्ष अवलोकन गर्दा तत्कालै सबै अवरोध हटाउने सम्भावना देखिएको छैन।
राणाका अनुसार उनको कमाण्डअन्तर्गत जलविद्युत् आयोजनाका चारवटा सुरुङ छन्। तीमध्ये रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी तथा उद्धार अघि बढाउन कठिन भएपछि हालका लागि काम रोकिएको छ। सुरुङको तल्लो भाग पानी र माटो तथा अन्य सामग्रीले भरिएको र त्यहाँ जीवित व्यक्ति भेटिने सम्भावना न्यून देखिएपछि आयोजनाका इन्जिनियरसँगको समन्वयमा खोजी कार्य स्थगित गरिएको हो।
तर चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भने खोजी तथा उद्धार अभियान जारी छ। सुरुङभित्र अझै कोही जीवित व्यक्ति रहेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सेनाको टोली परिचालन भइरहेको छ।
लाङटाङतर्फ रहेको अर्को सुरुङमा उद्धार टोली करिब ६४ मिटरभित्रसम्म पुगेको थियो। त्यसपछि सुरुङ क्रमशः साँघुरिँदै गएपछि मानिस प्रवेश गर्नसमेत कठिन अवस्था आएको सेनाले जनाएको छ। कतिपय स्थानमा करिब दुई फिट मात्र खाली ठाउँ रहेकाले घिस्रिएर अघि बढ्नुपर्ने अवस्था रहेको राणाले बताए।
त्यस्तै, २१६ नम्बरको सुरुङमा पनि पुनः खोजी तथा उद्धारको प्रयास थालिएको छ। यसअघि पाँचपटक प्रवेशको प्रयास गरिए पनि सुरुङभित्र छातीसम्म आउने गरी माटो, ढुंगा तथा अन्य सामग्री थुप्रिएका कारण टोली अघि बढ्न सकेको थिएन।
सेनाका अनुसार बाढीपहिरोबाट रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। नदी तथा खोलाको बहावले कतिपय स्थानमा करिब पाँच मिटरसम्मको तहमा क्षति पुर्याएको छ भने स्याफ्रुबेँसीको ठूलो हिस्सा बाढीले बगाएको छ। टिमुरेमा पनि व्यापक भौतिक क्षति भएको सेनाले जनाएको छ।
बाढीका कारण सडक तथा सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धारका लागि आवश्यक उपकरण र ठूला मेसिन प्रभावित क्षेत्रमा पुर्याउन कठिन भएको छ। अहिले प्रभावित क्षेत्रमा आवतजावत तथा उद्धारका लागि हवाई माध्यममा निर्भर हुनुपर्ने अवस्था रहेको सेनाले जनाएको छ।
राणाका अनुसार सडक बगाएकाले भारी उपकरण सुरुङ क्षेत्रसम्म पुर्याउन नसकिएको हो। ‘बाटोको समस्या छ, खोलाले सबै बाटो लगेको छ। त्यसले गर्दा मेसिन लैजान नसकिएको हो। तर मेसिन गए पनि टनेलभित्र जमेको सामग्रीको अवस्था हेर्दा दुई–तीन दिनमै काम सकिने अवस्था छैन’ उनले भने।
उपकरण पुगे पनि सुरुङभित्र थुप्रिएको सामग्रीको अवस्था हेर्दा केही दिनमै खोजी तथा उद्धारको काम पूरा हुने अवस्था नरहेको उनको भनाइ छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
