‘नेपालले कार्बन उत्सर्जन गरेको छैन, तर हामी ठूलो मारमा छौँ’ : सांसद झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिलाई अन्तर्राष्ट्रिय मुद्दा बनाएर प्रभावित मुलुकका रूपमा क्षतिपूर्ति दाबी गर्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै झाले नेपालले कार्बन उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको बताए। विकसित मुलुकको अत्यधिक कार्बन उत्सर्जनका कारण नेपालजस्ता मुलुक प्रभावित भइरहेकाले यस विषयमा अन्तर्राष्ट्रिय मञ्चमा बलियो आवाज उठाउनुपर्ने उनको भनाइ थियो।
‘नेपालले कार्बन उत्सर्जन गरेको छैन, तर हामी यसको ठूलो मारमा छौँ। अब यो विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउनुपर्छ र जलवायु परिवर्तनबाट भएको असरको क्षतिपूर्ति नेपालले पाउनुपर्छ भन्ने दाबी गर्नुपर्छ,’ उनले भने।
झाले रसुवा बाढीपछि उत्पन्न विपद्को अवस्थामा राजनीतिक दलहरूले सरकारप्रति देखाएको सहकार्य र सद्भाव सकारात्मक रहेको बताए। रास्वपाको नेतृत्वमा रहेको सरकारलाई अन्य दलहरूले संकटको समयमा दिएको समर्थनप्रति उनले सम्मान व्यक्त गरे।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा भएको सर्वदलीय बैठकलाई स्मरण गर्दै झाले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर देश र नागरिकका पक्षमा सबै एकजुट हुन सक्ने सन्देश गएको बताए।
उनले आगामी दिनमा पनि विपद् व्यवस्थापनमा राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
साथै जलवायु परिवर्तनबाट उत्पन्न जोखिमलाई राष्ट्रिय प्राथमिकताका रूपमा राख्दै त्यसको प्रभाव र क्षतिबारे अन्तर्राष्ट्रियस्तरमा समेत प्रभावकारी ढंगले आवाज उठाउन सरकारलाई सुझाव दिए।
