प्रचण्डको जोड : राहतसँगै बाढीपीडितको स्थायी पुनर्निर्माण थालौँ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा तत्कालीन राहत र अस्थायी व्यवस्थापनसँगै दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
शनिबार धादिङको गल्छी गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै प्रचण्डले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै अब प्रभावितको पुनःस्थापनातर्फ केन्द्रित हुनुपर्ने बताए ।
उनले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त संरचनाको अस्थायी व्यवस्थापन र स्थायी पुनर्निर्माणको काम एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए ।
बाढीपछि नेकपाले सुरुदेखि नै उद्धार तथा राहतका काममा पहल गर्दै आएको प्रचण्डले बताए । विपद् आएलगत्तै प्रभावित क्षेत्रमा पार्टीका नेता–कार्यकर्तालाई परिचालन गर्न निर्देशन दिइएको र त्यसपछि बैठकमार्फत विपद्पछिको अवस्थाबारे समीक्षा गरिएको उनको भनाइ छ ।
विपद् व्यवस्थापनको अनुभव भएका पार्टी नेता गंगालाल तुलाधरको नेतृत्वमा कामको समन्वय गर्न समिति गठन गरिएको उनले जानकारी दिए । उक्त संयन्त्रमार्फत पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरिएको उनको भनाइ थियो ।
प्रचण्डले बाढी प्रभावित क्षेत्रमा नेकपाको युवा संगठन वाईसीएलले गरेको कामको समेत प्रशंसा गरे । युवाहरूले प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा समन्वयमा सक्रिय भूमिका खेलेको भन्दै उनले धन्यवाद दिए ।
