‘विपक्षीलाई तर्साउने,धम्काउने?’
काठमाडौं । नेकपाका सांसद रमेश कुमार मल्लले रसुवा बाढीपछि बेपत्ता नागरिकको खोजी, डीएनए परीक्षण, राहत तथा पुनर्स्थापनाको कामबारे सरकारसँग जवाफ मागेका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै मल्लले बाढीपीडित परिवार अझै आफन्तको अवस्था थाहा पाउने प्रतीक्षामा रहेको भन्दै खोज तथा उद्धारलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराए।
उनले जलविद्युत् आयोजनाका सुरुङमध्ये कति ठाउँमा खोजी तथा उद्धार सम्पन्न भयो र कति ठाउँमा अझै जारी छ भन्ने जानकारी मागे। माथिल्लो त्रिशूली–२१६ मा भइरहेको खोजीको पछिल्लो अवस्थाबारे पनि उनले सरकारसँग स्पष्ट जवाफ मागेका छन्।
बेपत्ता आफन्तको अन्तिम संस्कार गर्नसमेत धेरै परिवार डीएनए परीक्षणको रिपोर्ट कुरेर बसेको भन्दै मल्लले परीक्षण कहिलेसम्म सकिन्छ र परिवारले आधिकारिक पहिचानको जानकारी कहिले पाउँछन् भन्ने प्रश्न गरे।
सुरक्षाकर्मीका लागि राहत घोषणा भएजस्तै बाढीमा ज्यान गुमाएका तथा बेपत्ता नागरिकका परिवारका लागि पनि राहत र पुनर्स्थापनाको प्याकेज तत्काल घोषणा गर्नुपर्ने उनको माग छ।
मल्लले बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन तत्काल सुरु गर्नुपर्ने बताए। बालबालिकाका लागि मनोपरामर्श तथा किशोरी सुरक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
एसईई दिने विद्यार्थीका लागि प्रभावित क्षेत्रमा विशेष प्याकेजसहित कक्षा सञ्चालन गर्नुपर्ने माग गर्दै उनले अभिभावकविहीन बालबालिकाको संरक्षण र शिक्षाको जिम्मेवारी सरकारले लिने एकरूप नीति बनाउनुपर्ने बताए।
‘प्रभावित क्षेत्रमात्र होइन, देशैभरिका यस्ता बालबालिकाको अवस्थालाई सरकारले ध्यान दिनुपर्छ,’ उनले भने।
बाढीले बगाएका सडक, पुल र झोलुङ्गे पुलको पुनर्निर्माणमा पनि समयसीमा तोकेर काम अघि बढाउनुपर्ने उनको माग छ। तुइनको विकल्पमा सुरक्षित झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिनुपर्ने उनले बताए।
क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण, घरबारविहीन परिवारको आवास र दीर्घकालीन पुनर्स्थापनाको योजना तत्काल सार्वजनिक गर्न पनि उनले सरकारसँग माग गरेका छन्।
मल्लले सल्यानमा पछिल्लो समय भएका दुर्घटनाप्रति समेत सरकारको ध्यानाकर्षण गराए।
गत शनिबार त्रिवेणी गाउँपालिका–५ सिम्कामा भएको जिप दुर्घटनामा ८ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीय बिपना बुढाथोकी र ५० वर्षीय दिल्लीबहादुर वलीको मृत्यु भएको उनले बताए।
सोही दिन त्रिवेणी–३ टाट टोटकेमा तीज मनाउन दाङबाट सल्यान आउँदै गरेकी जीता केसीको सल मोटरसाइकलको चेनमा बेरिँदा मृत्यु भएको उनले बताए।
मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मल्लले घाइतेको उपचार, दुर्घटनाको छानबिन, यात्रु बिमा, पीडित परिवारलाई राहत तथा श्रमिकको सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन गर्न माग गरे।
उनले दशैं–तिहारजस्ता चाडपर्वअघि राजमार्गदेखि स्थानीय सडकसम्म जोखिम पहिचान गरी तत्काल मर्मत–सम्भार गर्नुपर्ने बताए। चालकको नियमित स्वास्थ्य परीक्षण, सवारी साधनको अनिवार्य प्राविधिक जाँच, सडक पूर्वाधार सुधार र जनचेतना अभिवृद्धिमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।
मल्लले रोजगारीका लागि फिजी पुगेका सल्यान छत्रेश्वरी–५ का दुर्गालाल पुनको मृत्युको विषय पनि संसद्मा उठाए।
दलालको प्रलोभनमा परेर रोजगारीका लागि फिजी पुगेका पुन गम्भीर बिरामी भएपछि परिवारले एक महिनादेखि उनलाई नेपाल ल्याउन सरकारसँग आग्रह गर्दै आएको तर अहिले उनको मृत्यु भइसकेको उनले बताए।
अब उनको शव नेपाल ल्याउन, घटनामा दोषी देखिएकामाथि कारबाही गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
मल्लले आफ्नो सम्बोधनको अन्त्यमा सरकारका केही शक्तिशाली मन्त्रीको कार्यशैलीप्रति समेत प्रश्न उठाउँदै, विपक्षी र सरोकारवालालाई तर्साउने तथा धम्काउने प्रवृत्ति अन्त्य गर्नुपर्ने संकेत गरेका थिए।
