चीनको सबैभन्दा उत्तरी उच्चगति रेलमार्ग सञ्चालनमा
काठमाडाैँ। चीनको सबैभन्दा उत्तरी उच्चगति रेलमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
नयाँ रेलमार्गको पहिलो यात्रुवाहक रेल स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर २६ मिनेटमा यिछुन सहरबाट हार्बिनका लागि प्रस्थान गरेको थियो । निर्धारित समयअनुसार उक्त रेल दिउँसो १२ बजेर ५ मिनेटमा प्रान्तीय राजधानी हार्बिन पुग्नेछ।
यिछुन घना वन क्षेत्रका कारण परिचित सहर हो । नयाँ उच्चगति रेल सेवाले यिछुन र हार्बिनबीचको यात्रालाई थप सहज र तीव्र बनाउने अपेक्षा गरिएको छ ।
यो रेलमार्गको निर्माण भौगोलिक दृष्टिले चुनौतीपूर्ण क्षेत्रमा गरिएको हो । हाइलोङजियाङ चीनको अत्यन्त चिसो क्षेत्रमध्ये एक भएकाले यहाँको जमिनमा पर्माफ्रस्ट पाइन्छ । मौसमअनुसार जमिन जम्ने र पग्लिने प्रक्रियाले रेलमार्गको संरचनामा असर पार्न सक्ने भएकाले यस्तो क्षेत्रमा उच्चगति रेल पूर्वाधार निर्माण तथा सञ्चालन गर्दा विशेष प्राविधिक उपाय अपनाउनुपर्ने हुन्छ।
नयाँ रेलमार्ग सञ्चालनमा आएसँगै चीनको उत्तरपूर्वी क्षेत्रमा उच्चगति रेल सञ्जाल थप विस्तार भएको छ। यसले स्थानीय यात्रु आवागमनलाई सहज बनाउनुका साथै यिछुनलगायत उत्तरी क्षेत्रका सहरहरूलाई प्रान्तीय राजधानी हार्बिनसँग थप मजबुत रूपमा जोड्ने अपेक्षा गरिएको छ।
चीनले पछिल्ला वर्षहरूमा देशका विभिन्न क्षेत्रमा उच्चगति रेल सञ्जाल विस्तार गर्दै आएको छ। अत्यधिक चिसो मौसम र पर्माफ्रस्ट क्षेत्रजस्ता चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच निर्माण गरिएको यो रेलमार्गले चीनको उत्तरतर्फको रेल पूर्वाधार विकासमा नयाँ अध्याय थपेको छ।
