देउवा बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
देउवा पक्षले समानान्तर रूपमा अघि बढाएको महाधिवेशन प्रक्रियाअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा भएको वडा अधिवेशनबाट उनी क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्। वडा सभापति पदम महताका अनुसार देउवाको नाममा सर्वसम्मति जुटेको हो।
देउवाले वारेसनामामार्फत क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी दर्ता गराएका थिए। उनको तर्फबाट स्थानीय कौशिलादेवी देउवाले उम्मेदवारी प्रक्रिया पूरा गरेकी थिइन्।
कांग्रेसको संस्थापन पक्षले यसअघि नै आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाइसकेको अवस्थामा देउवा पक्षले छुट्टै अधिवेशन प्रक्रिया सुरु गरेको हो। देउवा पक्षले वडा अधिवेशनपछि क्रमशः स्थानीय, क्षेत्रीय, जिल्ला र प्रदेश तहका अधिवेशन गर्दै केन्द्रीय महाधिवेशनतर्फ जाने कार्यतालिका बनाएको छ।
देउवा यसअघि पनि वडा तहबाटै प्रतिनिधि निर्वाचित हुँदै महाधिवेशन प्रक्रियामा सहभागी हुँदै आएका थिए। यसपटक पनि उनले त्यही प्रक्रियाबाट अघि बढ्ने बाटो रोजेका हुन्।
