यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार बैठकले स्वच्छ ऊर्जा प्रवर्द्धनदेखि जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दा फिर्ताबारे गठित समितिको प्रतिवेदन गृह मन्त्रालय पठाउनेसम्मका निर्णय गरेको छ।
बैठकले नगरपालिकामा स्वच्छ ऊर्जा र ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिएको छ।
त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा, गठन, समूह तथा श्रेणी विभाजन र नियुक्तिसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ। वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ लाई पनि बैठकले स्वीकृत गरेको छ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले बुझाएको प्रतिवेदन आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा पठाउने निर्णय पनि भएको छ।
त्यसैगरी, सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा, समूहिकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
