`

विश्वव्यापी तेल आपूर्तिमा दबाब बढ्दै, मौज्दात न्यून रहेको चेतावनी

Nepal One HD १९ असोज २०८३ २०:२८
विश्व

लन्डन, १९ असोज-जी–७का राष्ट्रले आफ्नो मौज्दातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदी आरामकोका प्रमुख कार्यकारी अमिन नासेरले विश्वव्यापी तेल मौज्दात ‘डरलाग्दो हदसम्म न्यून’ रहेको बताउनुभएको छ । आपूर्ति अभावको जोखिम अझै कायम रहेको उहाँको भनाइ छ ।

साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादक कम्पनीका प्रमुख नासेरले सोमबार लन्डनमा आयोजित ‘इनर्जी इन्टेलिजेन्स फोरम’मा अहिले नै विश्वव्यापी तेल आपूर्ति प्रणालीमा दबाब बढिरहेको बताउनुभयो ।

ऊर्जा क्षेत्रका नेता सहभागी दुईदिने सम्मेलनमा उहाँले विश्वसँग तेल आपूर्तिका अन्य विकल्प अत्यन्त सीमित रहेकाले आपूर्ति व्यवस्थाको लचिलोपन र सुरक्षा घेरा निकै कमजोर रहेको बताउनुभयो ।अमेरिका–इरान द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा उत्पन्न चिन्ता कम गर्न जी–७का राष्ट्रले अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आईइए)सँगको समन्वयमा शुक्रबार तत्काल १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा ल्याउने सहमति गरेका थिए ।

अमेरिकासहितको जी–७को उक्त निर्णयअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घलाई आफ्नो रणनीतिक डिजेल मौज्दात प्रयोग गर्न वा अमेरिकी डिजेल निर्यात प्रतिबन्धको सामना गर्न दबाब दिएका थिए ।सामुद्रिक गतिविधि निगरानी गर्ने संस्था केप्लरका अनुसार हर्मुज जलसन्धिमा जहाजमाथि आक्रमण भए पनि गत साता इरानबाहेक मध्यपूर्वका देशबाट भएको तेल निर्यात युद्धपूर्वको स्तरभन्दा माथि पुगेको थियो ।
नासेरले मौज्दातसम्बन्धी कुल तथ्याङ्कलाई मात्र आधार नमान्न चेतावनी दिँदै वास्तविक रूपमा प्रयोग गर्न मिल्ने तेल मौज्दात १० प्रतिशतभन्दा कम रहेको बताउनुभयो ।उहाँका अनुसार विभिन्न देशले रिपोर्ट गरेको मौज्दातको ठूलो हिस्सा पूर्वाधार सञ्चालनका लागि आवश्यक न्यूनतम परिमाण हो ।

जी–७सहित ३२ राष्ट्र सदस्य रहेको आईइएले शुक्रबार घोषणा गरेको १० करोड ब्यारेलतर्फ सङ्केत गर्दै नासेरले भन्नुभयो, “त्यसैले उनीहरू १० करोड ब्यारेल व्यवस्थापन गर्न सङ्घर्ष गरिरहेका छन् ।”उहाँले आपत्कालीन मौज्दातले आगामी जाडोयाम पार गर्न केही सहयोग गर्न सक्ने भए पनि दीर्घकालीन तेल आपूर्तिको समस्या समाधान गर्न नसक्ने बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *