`

पूर्वराजकुमार एन्ड्र्यूद्वारा एपस्टाइन प्रकरणसम्बन्धी खानतलासी आदेश खारेज गर्न कानुनी चुनौती

Nepal One HD १९ असोज २०८३ २१:३३
विश्व

काठमाडाैँ। विवादमा परेका पूर्वराजकुमार एन्ड्र्यू माउन्टब्याटन–विन्डसरले आफ्ना शाही निवासमा खानतलासी गर्न जारी गरिएका आदेश खारेज गर्न माग गर्दै कानुनी प्रक्रिया सुरु गरेकाे छ । बेलायती न्यायपालिकाले सोमबार यसको पुष्टि गरेको छ।

न्यायपालिकाका अनुसार यससम्बन्धी गोप्य सुनुवाइ बिहीबार उच्च अदालतमा हुनेछ। एन्ड्र्यूले लन्डनको पश्चिममा रहेको विन्डसर र पूर्वी इङ्ल्यान्डको स्यान्ड्रिङहमस्थित आफ्ना निवासमा खानतलासी गर्न जारी गरिएका आदेशलाई चुनौती दिएको हो।

प्रहरीले एन्ड्र्यूलाई फेब्रुअरी १९ मा उनको ६६औँ जन्मदिनका दिन पक्राउ गरेको थियो। उनीमाथि अमेरिकी यौन अपराधी जेफ्री एपस्टाइनसँगको सम्बन्ध र सार्वजनिक पदको दुरुपयोगसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ।

घण्टौँको सोधपुछपछि उनलाई सोही दिन रिहा गरिएको थियो। यद्यपि, उनीमाथिको अनुसन्धान जारी छ । एन्ड्र्यूले एपस्टाइनसँगको सम्बन्धमा कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन्।

उहाँको गिरफ्तारीपछि राजा चाल्र्स तृतीयले ‘कानुनले आफ्नो बाटो लिनुपर्छ’ भन्दै प्रतिक्रिया दिएका थिए।

‘द डेली टेलिग्राफ’का अनुसार सन् १६४९ मा राजा चाल्र्स प्रथममाथि चलेको मुद्दापछि बेलायती राजपरिवारका कुनै सदस्यले आफूविरुद्धको फौजदारी कारबाहीको वैधतालाई चुनौती दिएको यो पहिलो घटना हो।

एन्ड्र्यूको कानुनी टोलीले लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टका न्यायाधीशले जारी गरेका खानतलासी आदेश कानुनसम्मत थिए वा थिएनन् भन्ने विषयमा अदालतको समीक्षा मागेको बताइएको छ।

न्यायिक पुनरवलोकन

बेलायती न्यायपालिकाको प्रेस कार्यालयले एन्ड्र्यूले ‘न्यायिक पुनरावलोकन’का लागि निवेदन दिएको जनाएको छ । निवेदनमा १८ फेब्रुअरी २०२६ मा सेन्ट्रल क्रिमिनल कोर्टका न्यायाधीशले जारी गरेका खानतलासी आदेश खारेज गर्न माग गरिएको छ।

एन्ड्र्यूको गिरफ्तारी र उनका निवासमा गरिएको खानतलासीले विवाद थप चर्किएको छ। एपस्टाइनसँगको सम्बन्धका कारण गत वर्ष नै उनलाई शाही उपाधिबाट वञ्चित गरिएको थियो र विन्डसरस्थित निवासबाट हटाइएको थियो।

बेलायती सरकारले उनलाई राजगद्दीको उत्तराधिकार क्रमबाट हटाउन कानुन ल्याउनेबारे समेत विचार गरिरहेको छ। एपस्टाइनमाथि आरोप लगाउनेमध्येकी भर्जिनिया ज्युफ्रेले आफ्ना संस्मरणमा आफू किशोरी हुँदा एन्ड्र्यूसँग यौनसम्पर्क गराउन आफूलाई तीन पटक मानव तस्करी गरिएको दाबी गरेकी थिइन्। एन्ड्र्यूले उक्त दाबी अस्वीकार गर्दै आएका छन्।

उनले कुनै दायित्व स्वीकार नगरी सन् २०२२ मा ज्युफ्रेले दायर गरेको अमेरिकी देवानी मुद्दा टुङ्गिएको थियो।

थेम्स भ्याली प्रहरीको हालको अनुसन्धान यस वर्षको सुरुमा अमेरिकाले सार्वजनिक गरेका एपस्टाइनसम्बन्धी कागजातबाट प्राप्त नयाँ सूचनामा आधारित रहेको बताइएको छ । ती कागजातमा रहेका इमेलमा एन्ड्र्यूले एपस्टाइनसँग सम्भावित रूपमा गोप्य मानिने जानकारी साझा गरेको देखिएको थियो ।

एपस्टाइनका इमेल

एएफपीले हेरेको नोभेम्बर २०१० को एउटा इमेलमा एन्ड्र्यूले एपस्टाइनलाई विभिन्न एसियाली देशको आफ्नो भ्रमणसम्बन्धी प्रतिवेदन पठाएको देखिएको थियो।

एपस्टाइनलाई सन् २००८ मा अमेरिकामा नाबालिगलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दोषी ठहर गरिएको थियो। बेलायतका कम्तीमा नौ प्रहरी निकायले एपस्टाइनसम्बन्धी आरोपको अनुसन्धान गरिरहेको पुष्टि गरेका छन्। ती अनुसन्धानमध्ये केही एन्ड्र्यूसँग सम्बन्धित छन्। अनुसन्धानका क्रममा जनवरीमा अमेरिकी अधिकारीले सार्वजनिक गरेका एपस्टाइनसम्बन्धी करिब ३० लाख फाइलको प्रयोग भइरहेको छ।

तीमध्ये थेम्स भ्याली प्रहरीको अनुसन्धान सबैभन्दा अघि बढेको देखिन्छ। प्रहरीले एन्ड्र्यूलाई पक्राउ गर्न पूर्वी इङ्ल्यान्डको स्यान्ड्रिङहमस्थित शाही सम्पत्तिमा रहेको उहाँको घर र लन्डनको पश्चिममा विन्डसरस्थित उनको पूर्वआवास ‘रोयल लज’मा खानतलासी गरेको थियो। विन्डसरस्थित निवासमा गरिएको खानतलासी छ दिनसम्म चलेको थियो।

एन्ड्र्यूको कानुनी चुनौतीबारे प्रतिक्रिया दिँदै थेम्स भ्याली प्रहरीले सार्वजनिक पदमा रहँदा भएको दुराचारसम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ।

प्रहरीले यसअघि जारी गरिएका खानतलासी आदेशसँग सम्बन्धित कानुनी प्रक्रियामा आफूहरू सङ्लग्न रहेको पनि जनाएको छ। कानुनी प्रक्रिया चलिरहेकाले यस विषयमा थप टिप्पणी गर्नु उचित नहुने प्रहरीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *