थाइल्याण्डमा थप वर्षाको चेतावनी, बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
काठमाडाैँ । सेप्टेम्बरको मध्यदेखि देशभर आएको बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेपछि थाइल्याण्डका अधिकारीले थप वर्षा र आकस्मिक बाढीको जोखिमबारे चेतावनी दिएका छन् ।
थाइल्याण्डको मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि बुधबारसम्म देशको माथिल्लो भेगका अधिकांश क्षेत्रमा चट्याङसहितको वर्षा र भारी वर्षा हुने सम्भावना छ । यसका कारण विशेषगरी होचा भू–भागमा आकस्मिक बाढीको जोखिम बढ्ने विभागले जनाएको छ ।
सप्ताहन्तमा राजधानी बैंककसहित मध्य, पूर्वी र दक्षिणी क्षेत्रका केही भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।
गत साता लगातारको मुसलधारे वर्षापछि बैंककका धेरै क्षेत्र डुबानमा परेका थिए । बाढीका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै जनजीवनमा गम्भीर असर परेको थियो । केही होचा क्षेत्रमा अझै पानी जमेको भए पनि सहरको अवस्था सुधार हुँदै गएको अधिकारीले बताएका छन् ।
थप बाढीको जोखिम कम गर्न बैंककका अधिकारीले विभिन्न उपाय अपनाइरहेका छन् । वर्षाको पानीको निकास क्षमता बढाउन मुख्य नहरबाट थप पानी निकाल्ने तथा उच्च जोखिमयुक्त क्षेत्रमा थप पानी तान्ने पम्प जडान गर्ने काम भइरहेको छ ।
विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार सोमबारसम्म देशभर ३५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन् । बाढीमा मृत्यु हुने ३१ जनामध्ये चार जना बैंककका र बाँकी सात वटा अन्य प्रान्तका रहेको विभागले जनाएको छ ।
बाढीबाट भएको व्यापक क्षतिपछि थाइ सरकारले गत साता पुनर्लाभका लागि चार दशमलव एक अर्ब भाट (करिब १२ करोड २० लाख अमेरिकी डलर)भन्दा बढीको आपत्कालीन कोष स्वीकृत गरेको थियो।
