इजरायली सेनामाथि आक्रमण भए ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी
काठमाडाैँ । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ। रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्।
रक्षामन्त्री काट्जको कार्यालयका अनुसार हमासले वार्षिकोत्सवका दिन गाजामा तैनाथ इजरायली सेनामाथि आक्रमण तथा आतङ्ककारी गतिविधि गर्ने योजना बनाएको भन्ने गुप्त सूचनाका आधारमा सेनालाई उच्च सतर्कतामा राखिएको हो। सेनालाई क्षति पुगेमा हमास र गाजाको जनसङ्ख्याले अनुपातभन्दा बाहिर ठुलो मूल्य चुकाउनुपर्ने उनले बताए।
एएफपीका अनुसार आधिकारिक इजरायली तथ्याङ्कमा आधारित विवरणमा सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो भने २५१ जना बन्धक बनाइएका थिए । तीमध्ये ४४ जनाको मृत्यु भइसकेको छ।
आक्रमणपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुरु गरेको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ हजार दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ । हमासको नियन्त्रणमा रहेको मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मान्दै आएको छ । गत अक्टोबरमा युद्धविराम भएयता पनि इजरायली सेनाको कारबाहीबाट एक हजार ४४० भन्दा बढी मानिसको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैबिच सोमबार आयोजित सरकारी समारोहमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासको शासन कायम नरहने बताउनुभएको छ । उहाँले अक्टोबर ७ को आक्रमणमा संलग्न तथा बन्धक बनाउने कार्यमा संलग्न जोसुकैलाई लक्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
