`

युक्रेनमा रुसी मिसाइल र ड्रोन आक्रमण, ३२ जनाको मृत्यु

Nepal One HD २२ असोज २०८३ ११:४७
विश्व

काठमाडौं । रुसले बुधबार युक्रेनका विभिन्न क्षेत्रमा मिसाइल र ड्रोनबाट गरेको ठूलो आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिकासमेत रहेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

आक्रमणमा आवासीय भवन, औद्योगिक संरचना तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुगेको छ। उत्तरी युक्रेनको चेर्निहिभ क्षेत्रस्थित प्रिलुकीमा सबैभन्दा ठूलो क्षति भएको बताइएको छ।

रुसी मिसाइल प्रहारबाट पाँचतले आवासीय भवन ध्वस्त हुँदा बिहीबार बिहानसम्म २२ जनाको मृत्यु भएको युक्रेनको आपतकालीन सेवाले जनाएको छ। उद्धारकर्मीहरूले भग्नावशेषबाट १५ जनालाई जीवितै उद्धार गरेका छन्।

राजधानी किभमा पनि रुसी आक्रमणमा चार जनाको मृत्यु भएको छ। किभनजिकै ड्रोनको भग्नावशेष खस्दा बुधबार साँझ दुई जनाको मृत्यु भएको थियो भने पछि भग्नावशेषबाट थप दुई शव फेला परेका थिए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार आक्रमणमा देशभर करिब १०० जना घाइते भएका छन्। उनले रुसी आक्रमणलाई ‘सबैभन्दा घृणित आक्रमणमध्ये एक’ भन्दै जानाजान ठूलो क्षति र त्रास सिर्जना गर्ने उद्देश्यले आक्रमण गरिएको आरोप लगाए।

जेलेन्स्कीका अनुसार रुसले रातभर युक्रेनतर्फ करिब ७० वटा मिसाइल प्रहार गरेको थियो। तीमध्ये धेरै उच्च गतिका ब्यालिस्टिक मिसाइल थिए। त्यससँगै दर्जनौँ शाहेद ड्रोन पनि प्रहार गरिएको उनले बताएका छन्।

युक्रेनी वायुसेनाका अनुसार रुसले प्रहार गरेका ४६ वटा जेट इन्जिनयुक्त ड्रोनमध्ये ८० प्रतिशतभन्दा बढीलाई खसालिएको थियो। पछिल्ला सातामा यस्ता ड्रोनमध्ये करिब ५० देखि ६० प्रतिशत मात्र रोक्न सफल हुँदै आएको युक्रेनले जनाएको छ।

तर ब्यालिस्टिक मिसाइल अझै पनि युक्रेनका लागि मुख्य चुनौती रहेको जेलेन्स्कीले बताएका छन्। जनधनको क्षति रोक्न आवश्यक प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली प्राप्त गर्न आफूहरूले निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ।

यता रुसी रक्षा मन्त्रालयले भने आक्रमण सैन्य–औद्योगिक संरचनालाई लक्षित गरेर गरिएको दाबी गरेको छ। मन्त्रालयका अनुसार किभसहित चेर्निहिभ, किरोभोहराद, डिनिप्रोपेत्रोभ्स्क, पोल्टाभा र खार्किभ क्षेत्रमा स्थल, समुद्र तथा हावाबाट प्रहार गर्न सकिने उच्च सटीकताका हतियार र ड्रोन प्रयोग गरिएको थियो।

रुसले युक्रेनी रक्षा कम्पनी फायर पोइन्टले फ्लामिङ्गो क्रुज मिसाइल तथा मध्यम र लामो दूरीका ड्रोन उत्पादन र भण्डारण गर्ने संरचनालाई समेत निशाना बनाइएको जनाएको छ। युक्रेनले गत साता फायर पोइन्टले निर्माण गरेको घरेलु ब्यालिस्टिक मिसाइल पहिलोपटक युद्धमा प्रयोग गरेको दाबी गरेको थियो।

आक्रमणको चेतावनी पाएपछि किभका धेरै बासिन्दाले रातभर भूमिगत मेट्रो स्टेसनमा आश्रय लिएका थिए। राजधानीमा रातभर पटक–पटक ठूलो विस्फोटको आवाज सुनिएको थियो।

जेलेन्स्कीले पछिल्लो २४ घण्टामा युक्रेनी सेनाले रुसका चारवटा लक्ष्यमा आक्रमण गरेको पनि बताएका छन्। उनका अनुसार तीमध्ये दुईवटा तेलसम्बन्धी संरचना र एउटा सैन्य प्रशिक्षण केन्द्र थिए।

रुसले यसअघि युक्रेनको राजधानी किभलगायत विभिन्न सहरमा रहेका विदेशी कूटनीतिज्ञ र नागरिकलाई सहर छाड्न चेतावनी दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *