`

अमेरिका–युक्रेन तनावबिच बेलायतको जेलेन्स्कीलाई समर्थन

Nepal One HD २५ असोज २०८३ २०:१७
विश्व

काठमाडाैँ। अमेरिका र युक्रेनबिच रुसी डिजेल व्यापारसम्बन्धी अमेरिकी निर्णयलाई लिएर तनाव बढिरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आफ्नो पूर्ण ऐक्यबद्धता पुनः व्यक्त गरेका छन्।

बेलायती प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ द्वारा शनिबार जारी विज्ञप्तिअनुसार जेलेन्स्कीसँगको टेलिफोन वार्तामा बर्नहमले पछिल्लो २४ घण्टा युक्रेनका लागि कठिन रहेको उल्लेख गर्दै आफ्नो पूर्ण समर्थन दोहोर्‍याएका हुन्।

बर्नहमले रुसमाथिका प्रतिबन्ध थप कडा बनाउने बेलायतको प्रयास जारी रहने बताए। दुवै नेता आगामी दिनमा छलफललाई निरन्तरता दिन प्रत्यक्ष भेट्न पनि सहमत भएको विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको धारणा व्यक्त गरेको भोलिपल्ट दुई नेताबीच टेलिफोन वार्ता भएको हो । ट्रम्पले जेलेन्स्कीमाथि रुससँग शान्ति सम्झौता गर्न असफल भएको आरोप लगाउनुका साथै अमेरिकामा डिजेलको मूल्य बढ्नुमा उनलाई दोष दिएका थिए।

यसअघि शुक्रबार वासिङ्टनले रुसी डिजेल व्यापारमाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्ने उपाय घोषणा गरेको थियो। त्यसको आलोचना गर्दै जेलेन्स्कीले रुसलाई पेट्रोलियम पदार्थ बिक्री गर्न अनुमति दिनु युद्धमा लगानी गर्नु सरह भएको बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *