`

१८ करोडको अडियो काण्ड : कांग्रेसमा देउवा-विश्वबीच पोलापोल

शुभेच्छा खड्का २४ कार्तिक २०८३ ११:३९
बिशेष

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब सार्वजनिक मञ्चमै छताछुल्ल हुन थालेको छ । विवादास्पद बिचौलिया इनाम सापकोटाको नाममा सार्वजनिक भएको १८ करोड रुपैयाँको अडियोले कांग्रेसको राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

अडियोमा सभापति गगन थापाले पार्टीको आधिकारिकता आफ्नो पक्षमा पार्न आर्थिक चलखेल गरेको दाबी गरिएको छ ।  

अडियो सार्वजनिक भएपछि कांग्रेसका नेताहरूबीच पोलापोलको शृंखला सुरु भएको छ । शनिबार एउटै विषयलाई लिएर पूर्वसभापति शेरबहादुर देउवा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले फरक-फरक मञ्चबाट आ-आफ्नो धारणा राखे ।

राष्ट्रिय सभागृहमा आयोजित जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा देउवाले १८ करोड रुपैयाँको प्रसंग उठाउँदै पार्टीको आधिकारिकता पैसाको बलमा प्राप्त गरिएको हो कि भन्ने आशंका व्यक्त गरे ।

‘इनाम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ? त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’ देउवाले प्रश्न गरे ।

उनले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको तत्कालीन निर्णयमाथि पनि प्रश्न उठाए । आयोगका तत्कालीन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले आफ्नो ज्यानको खतरा रहेको भन्दै निर्णय दिएको भन्ने समाचार आफूले सुनेको उल्लेख गर्दै देउवाले त्यसमा आर्थिक लेनदेनको आशंका गरे ।

देउवाको संकेत विशेष महाधिवेशनपछि कांग्रेसको नेतृत्व परिवर्तन भएको घटनातर्फ थियो । गत पुसको अन्तिम साता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिलाई निर्वाचन आयोगले माघ २ गते अद्यावधिक गरेको थियो । त्यसपछि देउवा नेतृत्वको समूह पार्टीको आधिकारिक नेतृत्वबाट बाहिरिएको थियो ।

तर, देउवाको अभिव्यक्तिको जवाफजस्तै गरी वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पनि शनिबार नै काभ्रेबाट १८ करोडको आरोपमाथि प्रतिवाद गरे ।

बनेपामा कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले आयोजना गरेको ‘नेपाली कांग्रेसको बदलिएको सोच र कार्यशैली’ विषयक कार्यक्रममा शर्माले गगन थापाको नेतृत्वलाई पैसाको कारोबारसँग जोडेर बदनाम गर्न खोजिएको टिप्पणी गरे । प्रमाणबिना फैलाइएका हल्लाका पछि नलाग्न आग्रह गर्दै उनले विशेष महाधिवेशन र त्यसबाट आएको नेतृत्व विधि तथा विधानअनुसार स्थापित भएको दाबी गरे ।

शर्माले आफू र गगन थापाको राजनीतिक पृष्ठभूमि उल्लेख गर्दै करोडौँ रुपैयाँ खर्च गरेर पार्टीको नेतृत्व लिएको भन्ने आरोपमाथि व्यंग्य गरे ।

‘एकपटक केवल स्वास्थ्य मन्त्री आठ–नौ महिना भएको गगन थापा र जिन्दगीमा मन्त्री कहिल्यै नबनेको, सांसद मात्रै बनेको विश्वप्रकाश शर्मा । करोडौँ–करोड बुझाउनुपर्‍यो भने हामी दुई भाइले बुझाउन सकौँला कि ? वर्षौंसम्म पटकपटक सत्तामा बसेका नेताहरू त उहाँहरूले बुझाउन सक्ने होइन र ?’ शर्माको प्रश्न थियो ।

उनले बिचौलियाले बोलेको भरमा कसैलाई दोषी ठहर गर्न नमिल्ने तर्कसमेत गरे । बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कुनै नेतालाई प्रधानमन्त्री बनाउन ५० करोड रुपैयाँको कारोबार भएको दाबी गरेकै आधारमा त्यसलाई कानुनी प्रमाण मान्न सकिन्छ कि सकिँदैन भन्दै उनले सामाजिक सञ्जालमा चल्ने प्रचारप्रति कटाक्ष गरे ।

‘एउटा बिचौलियाले कतै भन्यो अरे, कसैले केही भन्यो अरे भन्दैमा त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन ?’ शर्माले प्रश्न गरे ।

कांग्रेसभित्रको शक्ति संघर्ष भने यतिमै सीमित छैन । विशेष महाधिवेशनबाट आएको नेतृत्वले असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरी गगन थापाको सभापतित्वमा चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरिसकेको छ । तर, निवर्तमान सभापति देउवासहित उनको समूहका नेताहरू उक्त महाधिवेशनमा सहभागी भएनन् ।

देउवा समूहले नयाँ नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउँदै समानान्तर गतिविधि सञ्चालन गरिरहेको छ । तल्लो तहका अधिवेशनसमेत अघि बढाइरहेको उक्त समूह र थापा नेतृत्वको संस्थापन पक्षबीचको दूरी दिनप्रतिदिन बढ्दै गएको छ ।

यस्तो अवस्थामा १८ करोडको अडियोले कांग्रेसको आन्तरिक विवादलाई थप पेचिलो बनाएको छ । एकातिर देउवा पक्षले आर्थिक चलखेलको आशंका उठाइरहेको छ भने अर्कोतिर थापा पक्षले प्रमाणविहीन आरोप भन्दै खण्डन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *