हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा
काठमाडौं । हिन्दु धर्मगुरुहरूले चलचित्र ‘पाँच पाण्डव’ हेरेका छन् । उनीहरूले सोमबार ‘पाँच पाण्डव’ हेरेका हुन् । चलचित्र हेरेपछि हिन्दु धर्मगुरुहरूले सामाजिक सञ्जालमा आएजस्तो सिनेमामा केही नरहेको बताएका छन् ।
हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ले हिन्दू धर्मलाई हेलाहोचो गर्ने काम नगरेको बताएका छन् । ‘पाँच पाण्डव’ले हिन्दू धर्म, महाभारत, पाण्डव, गीता वा धर्मका अन्य कुनै पनि पक्षलाई आँच पु¥याउने काम नगरेको प्रस्ट भएको बताएका छन् ।
पोस्टर र ट्रेलर हेर्दा चलचित्रमा केही समस्या छ कि भन्ने लागेर आफूले आंशका व्यक्त गर्दै केही लेखे÷बोले पनि सिनेमा हेर्दा त्यस्तो केही पनि नरहेको बताएका छन् । ‘पाँच पाण्डव’ हेर्नै पर्ने खालको चलचित्र रहेको उनीहरुले प्रस्ट पारे ।‘चलचित्रमा द्रोपदी भन्ने पात्र नै छैन । तर पोस्टरमा त्यो थियो । ट्रेलरमा पनि केही कुरा थिए । त्यसैले हामीले विरोध गरेका हौँ,’ चलचित्र हेरेपछि हिन्दु धर्मगुरुहरूले भने, ‘सिनेमामा हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा छैन । उत्कृष्ट सिनेमा बनेको छ । सबैले हेर्नुपर्ने चलचित्र बनेको छ ।’
बसन्त निरौलाले निर्देशन गरेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका छ ।यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।
‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको छ ।
यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुली सम्पादन तथा रङ्ग सम्पादन, सम्राट बस्नेत द्वन्द्व निर्देशन, गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गरेको छ ।
