`

राष्ट्रपतिले नियुक्त गरे सर्वोच्चका चार न्यायाधीश

Nepal One HD २८ कार्तिक २०८३ १३:१७
प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त हुने भएका छन् । न्यायपरिषद्बाट सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेसँगै नियुक्तिको बाटो खुलेको हो ।

अनुमोदित हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।

न्यायपरिषद्ले गत असोज २० गते उनीहरूको नाम सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको थियो ।

त्यस्तै, सिफारिसमा परेका डा. बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् भने सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत थिए ।

संसदीय सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूमाथि न्यायिक निष्पक्षता, राजनीतिक हस्तक्षेप, न्यायालयमा बिचौलियाको प्रभाव र फैसला कार्यान्वयनलगायतका विषयमा प्रश्न उठेका थिए । उनीहरूविरुद्ध परेका उजुरीमाथि समेत समितिले छलफल गरेको थियो ।

समितिबाट नाम अनुमोदन भएसँगै अब राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रक्रिया अघि बढ्नेछ । नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्यायपरिषद्को सिफारिसमा राष्ट्रपतिले सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

साथै, नियुक्तिपछि उनीहरूले पद तथा गोपनीयताको शपथ लिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *