`

के हाे सिजोफ्रेनिया ?

शुभेच्छा खड्का २८ कार्तिक २०८३ १७:४७
जीवनशैली/स्वास्थ्य

काठमाडौं । घरमा सबै आ-आफ्नै काममा व्यस्त छन् । कोठामा एक्लै बसेको व्यक्ति भने कसैसँग कुरा गरिरहेको छ । कहिले हाँस्छ, कहिले रिसाउँछ त कहिले कसैले आफूलाई मार्न खोजिरहेको भन्दै डराउँछ । परिवारका सदस्य कोठामा पुग्दा त्यहाँ अरू कोही हुँदैन । तर उसका लागि त्यो आवाज, त्यो डर र त्यो अनुभूति बिल्कुल वास्तविक हुन्छ ।

कसैले नाम लिएर बोलाइरहेको सुनिन्छ । कसैले गाली गरिरहेको, आफ्नो कुरा काटिरहेको र आफूविरुद्ध षड्यन्त्र गरिरहेको महसुस हुन्छ । कहिलेकाहीँ नदेखिएका मानिस आँखाअगाडि आउँछन् । आफूलाई कसैले पछ्याइरहेको वा निगरानी गरिरहेको विश्वास बस्छ । परिवारले सम्झाउँछ, साथीभाइले बुझाउन खोज्छन्, तर उसले आफ्नो अनुभवलाई नै सत्य ठानिरहेको हुन्छ ।

बाहिरबाट हेर्नेहरूका लागि यो असामान्य व्यवहार हो । कसैले पागलपन भन्छन्, कसैले भूतप्रेतको प्रभाव ठान्छन् । कतिपय परिवारले समेत यस्तो व्यवहारलाई व्यक्तिको जिद्दी वा स्वभावसँग जोडेर हेर्छन् । तर उनीहरूलाई के थाहा, उनीहरूको आफ्नै मस्तिष्कले वास्तविकता बुझ्ने तरिकामा परिवर्तन आएको हुन सक्छ ।

यो केवल अनौठो व्यवहार होइन, गम्भीर मानसिक स्वास्थ्य समस्याको संकेत हुन सक्छ । यसलाई सिजोफ्रेनिया भनिन्छ ।

सिजोफ्रेनिया यस्तो गम्भीर मानसिक रोग हो, जसले व्यक्तिको सोच्ने, महसुस गर्ने, व्यवहार गर्ने र वास्तविकता छुट्याउने क्षमतामा असर पुर्‍याउँछ । यसबाट प्रभावित व्यक्तिले वास्तविकतामा नभएका कुरालाई पनि सत्य ठान्न सक्छन् ।

यसका प्रमुख लक्षणमध्ये भ्रम र मतिभ्रम पर्छन् । भ्रममा व्यक्तिले कसैले आफूलाई मार्न खोजिरहेको, आफ्नो निगरानी गरिरहेको वा आफूविरुद्ध षड्यन्त्र भइरहेको विश्वास गर्छन् । कतिपयले आफू असाधारण शक्तिशाली भएको वा विशेष क्षमता प्राप्त गरेको समेत ठान्न सक्छन् ।

मतिभ्रममा भने वास्तविकतामा नभएको आवाज सुनिन्छ वा वस्तु देखिन्छ । कसैले नबोलाउँदा पनि नाम लिएर बोलाएको सुनिनु, कसैले गाली गरिरहेको वा आफूलाई केही गर्न आदेश दिइरहेको आवाज आउनु यसका उदाहरण हुन् ।

सबैभन्दा संवेदनशील पक्ष के हो भने यस्ता अनुभव उनीहरूका लागि कल्पना मात्र हुँदैनन् । उनीहरू वास्तवमै कसैले बोलाइरहेको, पछ्याइरहेको वा हानि पुर्‍याउन खोजिरहेको अनुभूति गर्छन् । त्यसैले अरूले नभएको कुरा हो भन्दा पनि उनीहरूलाई विश्वास गर्न कठिन हुन्छ ।

कतिपय व्यक्ति एक्लै हाँस्ने, बोल्ने वा बर्बराउने गर्छन् । कुराकानी गर्दा असम्बन्धित कुरा गर्ने, प्रश्नको जवाफ दिन नसक्ने, अनुहारमा भाव नदेखिने र खुसी वा दुःखका घटनामा समेत प्रतिक्रिया नजनाउने समस्या देखिन सक्छ ।

सिजोफ्रेनियाले व्यक्तिको मस्तिष्कमा मात्रै असर गर्दैन, उसको सम्पूर्ण जीवनलाई प्रभावित पार्न सक्छ ।

कुनै समय साथीभाइसँग रमाउने, परिवारसँग घुलमिल हुने र आफ्नो भविष्यका सपना देख्ने व्यक्ति बिस्तारै एक्लिन थाल्न सक्छ । पढाइमा रुचि घट्छ, काममा ध्यान जाँदैन, सामाजिक सम्बन्ध कमजोर हुँदै जान्छन् । व्यक्तिगत सरसफाइमा समेत बेवास्ता हुन सक्छ ।

परिवारका सदस्यले पहिलेको व्यवहार सम्झेर चिन्ता व्यक्त गर्छन् । किन बोल्दैन ? किन एक्लै बस्छ ? किन सधैँ डराउँछ ? किन आफूलाई कसैले हानि पुर्‍याउन खोजिरहेको भन्छ ? यस्ता प्रश्नले परिवारलाई समेत मानसिक तनाव दिन सक्छन् ।

कतिपय बिरामीलाई आफूमा समस्या भएको महसुससमेत हुँदैन । आफू स्वस्थ रहेको ठान्ने भएकाले उपचार गर्न वा औषधि खान अस्वीकार गर्न सक्छन् ।

यस्तो अवस्थामा परिवारले उनीहरूको व्यवहारलाई जिद्दी वा घमण्ड ठान्नु हुँदैन । उनीहरूलाई गाली गर्ने, डर देखाउने वा जबर्जस्ती आफ्नो कुरा स्वीकार गराउनेभन्दा धैर्यपूर्वक साथ दिनु आवश्यक हुन्छ ।

सिजोफ्रेनिया प्रायः किशोरावस्थाको अन्त्यदेखि युवावस्थाको सुरुआती चरणमा देखिन थाल्छ । पुरुषमा सामान्यतया २० वर्षको आसपास र महिलामा २० वर्षको अन्त्यतिर यसको सुरुआत हुने सम्भावना बढी हुन्छ । यद्यपि जुनसुकै उमेरमा पनि देखिन सक्छ ।

सुरुआती अवस्थामा साथीभाइसँग घुलमिल हुन नखोज्ने, पढाइमा रुचि घट्ने, निद्रामा समस्या हुने, चिडचिडापन बढ्ने र ध्यान केन्द्रित गर्न नसक्ने लक्षण देखिन सक्छन् । यस्ता परिवर्तनलाई सामान्य व्यवहार ठानेर बेवास्ता गर्दा रोग पहिचानमा ढिलाइ हुन सक्छ ।

सिजोफ्रेनिया हुनुको यकिन कारण अहिलेसम्म पत्ता लागिसकेको छैन । तर वंशाणुगत, जैविक र वातावरणीय कारणको संयुक्त प्रभावले यो रोग विकास हुन सक्ने मानिन्छ ।

परिवारमा कसैलाई सिजोफ्रेनिया भएको इतिहास भएमा अन्य सदस्यमा पनि जोखिम बढ्न सक्छ । मस्तिष्कमा डोपामाइन र ग्लुटामेटजस्ता न्युरोट्रान्समिटरको काममा हुने असन्तुलन तथा गर्भावस्था र जन्मका क्रममा भएका केही जटिलताले पनि भूमिका खेल्न सक्छन् ।

तर यो व्यक्तिको इच्छाशक्ति कमजोर भएर, धेरै सोचेर वा खराब स्वभावका कारण हुने रोग होइन ।

कसैले एक्लै बोलेको, असामान्य व्यवहार गरेको वा अत्यधिक शंका गरेको आधारमा उसलाई सिजोफ्रेनिया भएको निष्कर्ष निकाल्नु हुँदैन ।

अन्य मानसिक तथा स्नायु प्रणालीसम्बन्धी रोगमा पनि यस्तै लक्षण देखिन सक्छन् । एटिपिकल एक्युट एन्ड ट्रान्जियन्ट साइकोटिक डिसअर्डरमा अचानक भ्रम र मतिभ्रम देखिन सक्छन् । त्यस्तै, वृद्धवृद्धामा डिमेन्सियाका कारण पनि शंका, भ्रम र व्यवहारमा परिवर्तन आउन सक्छ ।

त्यसैले यस्ता लक्षण देखिएमा मानसिक स्वास्थ्य विशेषज्ञबाट परीक्षण गराउनु आवश्यक हुन्छ ।

औषधिले नियन्त्रण गर्न सकिन्छ, साथले जीवन सहज बनाउन सकिन्छ

सिजोफ्रेनिया उपचार गर्न नसकिने रोग होइन । यसको मुख्य उपचार एन्टिसाइकोटिक औषधि हो । बिरामीको अवस्था र लक्षणअनुसार चिकित्सकले औषधि छनोट गर्छन् ।

औषधिले भ्रम, मतिभ्रम र अन्य मानसिक लक्षण नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ । यसका साथै मनोसामाजिक परामर्श, साइकोथेरापी र परिवारको सहयोग पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

कतिपय बिरामीले लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन सक्छ । लक्षणमा सुधार आएको भन्दैमा आफूखुसी औषधि बन्द गर्नु हुँदैन । चिकित्सकको सल्लाहबिना औषधि छाड्दा रोग पुनः बल्झिन सक्छ ।

नियमित उपचार र सहयोग पाएमा धेरै प्रभावित व्यक्ति आफ्नो पढाइ, काम र पारिवारिक जीवनलाई निरन्तरता दिन सक्छन् ।

नेपालमा मानसिक रोगप्रतिको सामाजिक दृष्टिकोण अझै पूर्ण रूपमा सकारात्मक बन्न सकेको छैन । कतिपय परिवारले मानसिक समस्या स्वीकार गर्न हिचकिचाउँछन् । अस्पताल लैजानुभन्दा पहिले धामीझाँक्रीकहाँ पुग्ने प्रवृत्ति पनि देखिन्छ ।

त्यसपछि सुरु हुन्छ अर्को पीडा । असामान्य व्यवहार देखाउनेबित्तिकै ‘पागल’ भन्ने, गिज्याउने, परिवारबाट अलग्याउने र समाजमा बस्न नसक्ने ठान्ने प्रवृत्ति ।

एउटा व्यक्ति आफ्नो मस्तिष्कमा उत्पन्न भइरहेको भ्रम र आवाजसँग जुधिरहेको हुन्छ । त्यसमाथि समाजको अपहेलना थपिन्छ । परिवारको डर, साथीभाइको दूरी र सामाजिक विभेदले उसको पीडा अझ गहिरो बनाउन सक्छ ।

समयमै उपचार नपाउँदा पढाइ, रोजगारी, आर्थिक अवस्था र पारिवारिक सम्बन्धमा गम्भीर असर पर्न सक्छ । कतिपयमा डिप्रेसन, लागूपदार्थको दुरुपयोग तथा आत्महत्यासम्बन्धी विचारसमेत आउन सक्छन् ।

त्यसैले बिरामीलाई एक्ल्याउने होइन, उनीहरूको कुरा सुन्ने र उपचारका लागि प्रोत्साहित गर्ने वातावरण आवश्यक छ । आफू वा अरूलाई हानि पुग्न सक्ने जोखिम देखिएमा तत्काल स्वास्थ्यकर्मीको सहयोग लिनुपर्छ ।

सिजोफ्रेनिया भएका व्यक्तिलाई गाली गरेर, डर देखाएर वा समाजबाट टाढा राखेर समस्या समाधान हुँदैन । उनीहरूको व्यवहार बुझ्ने, उपचारमा सहयोग गर्ने र नियमित औषधि सेवनमा साथ दिने जिम्मेवारी परिवार र समाज दुवैको हो ।

मेरो विचारमा हाम्रो समाजले सबैभन्दा पहिले मानसिक रोगलाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक छ । कसैले एक्लै बोल्दैमा, असामान्य व्यवहार गर्दैमा वा हुँदै नभएको आवाज सुन्दैमा उसलाई पागलको संज्ञा दिनु मानवीय व्यवहार होइन । उनीहरू पनि सपना, भावना र भविष्य भएका मानिस हुन् । फरक यति हो, उनीहरू एउटा यस्तो मानसिक अवस्थासँग जुधिरहेका छन्, जसलाई अरूले देख्न वा महसुस गर्न सक्दैनन् ।

हामीले उनीहरूको कुरा सुन्ने, पीडा बुझ्ने र उपचारका लागि हात बढाउने हो भने धेरैको जीवन सहज बनाउन सकिन्छ । मानसिक रोग लुकाउने विषय होइन, उपचार र सहयोग खोज्ने विषय हो ।

किनकि कहिलेकाहीँ मानिसलाई सबैभन्दा बढी डर उसले देखेको वा सुनेको कुराले मात्र होइन, आफ्नो पीडा कसैले बुझ्दैन भन्ने अनुभूतिले पनि सताउँछ । उनीहरूलाई समाजबाट बहिष्कार होइन, आत्मीयता चाहिएको छ । अपहेलना होइन, उपचार चाहिएको छ । उनीहरूलाई पागल भनेर टाढा धकेल्नुको सट्टा मानिसका रूपमा स्वीकार गर्नुपर्छ । 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *