`

बालेनको ‘आतंक सिर्जना गर्ने सरकार’

चिना श्रेष्ठ ३० कार्तिक २०८३ १८:१७
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद हरिमोहन भण्डारीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन् ।

उनले बालेन सफल भए देश सफल हुने भन्दै सरकारप्रति जनताको ठूलो आशा रहेको बताए ।

रिपोटर्स क्लबमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताए ।

भारतसँगको सम्बन्धमा राष्ट्रिय स्वाभिमानलाई प्राथमिकता दिनुपर्ने पनि उनको धारणा छ ।

महाकाली, पञ्चेश्वर र सेती जलविद्युत् आयोजना अघि बढाउन तथा भारत भ्रमणमा विज्ञहरूको सुझाव लिन पनि उनले आग्रह गरे ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले वर्तमान अवस्थामा लोकतान्त्रिक संस्थाहरू कमजोर र प्रधानमन्त्री अत्यन्त शक्तिशाली बनेको आरोप लगाए ।

संसद्, न्यायपालिका, प्रहरी प्रशासन, सञ्चार क्षेत्र र निजी क्षेत्रसमेत दबाबमा रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीको भारत भ्रमण व्यक्तिगत नभई समग्र नेपालको प्रतिनिधित्व गर्ने भ्रमण भएकाले राष्ट्रिय प्रतिष्ठा र कूटनीतिक मर्यादा कायम राख्नुपर्ने उनले बताए ।

भारतसँगको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर जिम्मेवार ढंगले प्रस्तुत हुन पनि उनले आग्रह गरे ।

यस्तै, नेकपा एमालेका नेता विष्णु रिजालले दुईतिहाइ बहुमत प्राप्त सरकारले साढे सात महिनाको अवधिमा अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे ।

राजनीतिक नियुक्तिमा विवाद, कर्मचारीतन्त्रमा अस्थिरता, प्रहरी प्रशासनमाथि हस्तक्षेप र विदेशी लगानी आकर्षित गर्न नसकेको उनको आरोप थियो ।

प्रधानमन्त्रीले राजनीतिक दल, संसद् र सञ्चारमाध्यमसँग पर्याप्त संवाद नगरेको भन्दै उनले भारत भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्नुपर्ने बताए ।

नेपाली कम्युनिस्ट पार्टीका नेता मेटमणि चौधरीले भने वर्तमान सरकार रिस, प्रतिशोध र राजनीतिक इगोको जगमा बनेको आरोप लगाए ।

उनले सुकुम्बासीमाथि डोजर चलाइएको, कर वृद्धि र महँगी बढेको तथा कर्मचारी र निजी क्षेत्रलाई त्रासमा राखिएको दाबी गरे ।

सरकारलाई ‘आतंक सिर्जना गर्ने सरकार’ को संज्ञा दिँदै उनले जनताको अपेक्षाअनुसार काम हुन नसकेको बताए ।

अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक वृद्धिको लक्ष्य र तथ्यांकमाथि समेत उनले प्रश्न उठाए ।

चौधरीले प्रधानमन्त्रीको भारत भ्रमणमा लिपुलेक, लिम्पियाधुरा, कालापानी र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको विषय प्राथमिकताका साथ उठाउनुपर्ने सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *