आर्थिक गतिविधिमा बाधक पुराना कानुन हटाउँदै सरकार
काठमाडौं । आर्थिक गतिविधिमा अवरोध सिर्जना गर्ने पुराना र नियन्त्रणमुखी कानुन हटाउने तयारीमा सरकार जुटेको छ ।
कानुनमन्त्री सोविता गौतमले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता खुम्च्याउने र अनावश्यक लागत बढाउने कानुनी व्यवस्था खारेज तथा संशोधन गर्न सरकार अघि बढेको बताएकी छन् ।
सोमबार प्रतिनिधिसभाको अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ माथिको छलफलमा सहभागी हुँदै मन्त्री गौतमले आर्थिक सुधारका लागि विद्यमान कानुनी संरचनामै परिवर्तन आवश्यक रहेको बताइन् ।
उनका अनुसार उच्चस्तरीय आर्थिक सुझाव आयोगले तयार पारेको ‘आर्थिक सुधारको मार्गचित्र, २०८१’ ले नागरिक र व्यवसायीको स्वतन्त्रता सीमित गर्ने, व्यवसाय सञ्चालनको खर्च बढाउने तथा कार्यान्वयनका क्रममा दुरुपयोग हुन सक्ने नियन्त्रणमुखी कानुन हटाउन सिफारिस गरेको थियो । सरकारले सोही प्रतिवेदनका आधारमा कानुन संशोधनको प्रक्रिया अघि बढाएको हो ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेत पुराना तथा असान्दर्भिक कानुन खारेज गर्ने र आवश्यक कानुन परिमार्जन गर्ने नीति समेटिएको मन्त्री गौतमले जानकारी दिइन् । सरकारले अर्थ मन्त्रालयसँग सम्बन्धित पाँचवटा ऐन र एउटा नियमावली खारेज गर्ने प्रस्ताव विधेयकमा राखेको छ ।
खारेज गर्न प्रस्ताव गरिएका कानुनमा प्रादेशिक विकास आयोजना कार्यान्वयन गर्ने ऐन, २०७३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, हवाई टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५ छन् । त्यस्तै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७० पनि हटाउने प्रस्ताव गरिएको छ ।
सरकारले पुराना कानुन हटाउने मात्रै नभई कर तथा भन्सार प्रशासनलाई नयाँ ढाँचामा लैजाने तयारीसमेत गरेको छ । त्यसका लागि मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ संशोधन गर्न प्रस्ताव गरिएको छ ।
प्रस्तावित व्यवस्थाअनुसार व्यावसायिक मालसामान ढुवानी गर्दा त्यसको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरी अद्यावधिक गर्नुपर्नेछ । ढुवानीका साधनमा जीपीएस जडान गर्नुपर्ने व्यवस्था पनि अघि सारिएको छ । यद्यपि आवश्यकताअनुसार सम्बन्धित विभागले जीपीएस जडानमा छुट दिन सक्ने प्रावधान राखिएको मन्त्री गौतमले बताइन् । उक्त व्यवस्था उल्लंघन गरे पहिलोपटक ५० हजार रुपैयाँसम्म र त्यसपछि प्रत्येक पटक एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव छ ।
त्यसैगरी आयकर ऐन संशोधनमार्फत गैरकर राजस्व नतिर्ने वा बुझाउन बाँकी राख्ने व्यक्तिमाथि पनि अनुसन्धान गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल सरकारको निर्देशनको अधीनमा रहेर महानिर्देशकले यस्तो अनुसन्धान गर्न सक्नेछन् । अनुसन्धानबाट थप गैरकर दायित्व निर्धारण भए त्यसको शतप्रतिशतसम्म जरिवाना असुल गर्ने तथा त्यस्तो निर्णयविरुद्ध प्रशासकीय पुनरावलोकन गर्न पाउने व्यवस्था पनि विधेयकमा समेटिएको छ ।
भन्सार प्रशासनको अधिकार विस्तार गर्ने उद्देश्यले भन्सार ऐन, २०८२ मा समेत संशोधन प्रस्ताव गरिएको छ । जाँचपास भइसकेका वस्तुको समेत पुनः परीक्षण, अनुसन्धान र कारबाही गर्न सकिने व्यवस्था राखिएको छ । भन्सार जाँच परीक्षण कार्यालयलाई भन्सार क्षेत्रभित्र र बाहिर हुने चोरी निकासी तथा पैठारी नियन्त्रणका लागि चेकजाँच र अनुसन्धान गर्ने अधिकार दिन खोजिएको मन्त्री गौतमले बताइन् ।
राजस्व चुहावटसम्बन्धी छुट्टै ऐन खारेज भएपछि त्यसअन्तर्गत चलिरहेका अनुसन्धान र उजुरी व्यवस्थापन गर्न पनि विधेयकमा व्यवस्था गरिएको छ । आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर तथा गैरकरसम्बन्धी उजुरी आन्तरिक राजस्व विभागमा पठाइनेछ भने चोरी निकासी तथा पैठारीका उजुरी भन्सार विभागमा हस्तान्तरण गरिनेछ । विदेशी विनिमयसम्बन्धी कसुरका उजुरी भने सम्बन्धित कानुनले तोकेको अनुसन्धान अधिकारीसमक्ष पठाउने प्रस्ताव गरिएको छ ।
राजस्व अनुसन्धान विभागमा रहेका पुराना अभिलेख र अनुसन्धानसम्बन्धी कागजातसमेत अर्थ मन्त्रालयको निर्णयअनुसार सम्बन्धित निकायमा हस्तान्तरण गरिनेछ ।
पुराना कानुनको बोझ हटाएर आर्थिक गतिविधि सहज बनाउने सरकारको दाबी रहे पनि प्रस्तावित संशोधनले व्यवसायीलाई थप कागजी प्रक्रिया र निगरानीको दायरामा ल्याउने हो वा वास्तविक रूपमा प्रशासनिक झन्झट घटाउने हो भन्ने कुरा विधेयकको अन्तिम स्वरूप र कार्यान्वयनले निर्धारण गर्नेछ।
