दिल्लीमा बालेनको सम्बोधन : नेपाल-भारत सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता (पूर्णपाठ)
भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यू, आदरणीय मित्रहरू, सबैमा नमस्कार।
भगवान् श्री पशुपतिनाथ, माता जानकी तथा करुणामय मच्छिन्द्रनाथको आशीर्वाद एवं नेपाली जनताको स्नेह, प्रेम र सद्भाव भारत र यहाँका जनताप्रति बोकेर, यो सौहार्दपूर्ण निमन्त्रणा र न्यानो आतिथ्यताका लागि म प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
आपसी सम्मान, अटल विश्वास र अटुट सद्भाव नेपाल–भारत सम्बन्धका आधारस्तम्भ हुन्। यो अतुलनीय सम्बन्धको मुटुमा हाम्रा दुई देशका जनता छन्। नेपाल र भारतबीचको सम्बन्ध हिमालयझैँ अटल र महासागरझैँ विशाल छ। यति गहिरो निकटता छ कि शब्दहरूले मात्र यसलाई मुश्किलले समेट्न सक्छन्। एक भरपर्दो र विश्वासिलो छिमेकीका रूपमा भारत प्राकृतिक विपद् र कठिन घडीमा सधैँ पहिलो सहयोगीका रूपमा उभिएको छ। यसका लागि म भारत सरकार र जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।
हाम्रा शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र आधुनिकीकरण गर्ने लक्ष्यले निर्देशित हुँदै, हामीले भर्खरै प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न गरेका छौँ र हाम्रो बहुआयामिक द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामहरूमा खुला, सारभूत र भविष्यमुखी छलफल गरेका छौँ। यस सन्दर्भमा प्रमुख पूर्वाधार परियोजनाहरूको उद्घाटन र शिलान्याससँगै नेपाल-भारत सहकार्यका विविध क्षेत्रमा महत्त्वपूर्ण समझदारीहरू बनेका छन्।
आज हामीले गरेका समझदारी र अगाडि बढाएका परियोजनाका नतिजाहरू हाम्रा किसानहरूको खेतबारीमा समृद्धि, युवाहरूको हातमा रोजगारी र अवसर, विद्यार्थीहरूको सपनामा नयाँ क्षितिज तथा उद्यमीहरूका लागि नयाँ बजार, लगानी र व्यापार विस्तारका ठोस माध्यममा रूपान्तरण हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।
साथीहरू, म विश्वस्त छु कि यी ऐतिहासिक कोसेढुङ्गाहरूले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछन्। यो दिगो सम्बन्धको बलियो जगमा उभिएर भविष्यका लागि मजबुत खम्बाहरू निर्माण गर्नु आजको आवश्यकता हो। सफा पानीका स्रोतका रूपमा रहेका हाम्रा हिमालयहरूले यस क्षेत्रका लाखौँ मानिसलाई धानेका छन्। हिमालयबाट बगेर गङ्गामा मिसिने निर्मल नदीहरूले हामीलाई हाम्रो भविष्य र नियतिको सम्झना गराउँछन्। यसले सामूहिक प्रयासबाट जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्नुपर्ने अपरिहार्यतालाई जोड दिन्छ।
भगवान् राम र माता सीताको पावन युगदेखि नै नेपाल र भारत ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्बन्धले बाँधिएका छन्। आज हामीले यो सम्बन्धलाई अझ जीवन्त बनाउन रेल सम्पर्क सञ्जालको उद्घाटन गरेका छौँ। हाम्रा पूर्वजहरूले बसालेको बलियो ऐतिहासिक जगमा टेकेर इतिहासले आज हामीलाई नेपाल–भारत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने असाधारण जिम्मेवारी सुम्पिएको छ, जसले भावी पुस्ताका लागि अवसर खोल्नेछ।
साथीहरू, यस अवसरमा म हाम्रा दुई देशको आर्थिक समृद्धिमा साझेदारी गर्न भारतीय लगानीकर्ताहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछु। आगामी दिनमा हाम्रा नागरिकको सुविधाका लागि दुवै देशका सहरबीच सिधा हवाई सम्पर्क सञ्जाल विस्तार गर्दै नेपालमा स्थापित आईआईटी (IIT) मा अध्ययन गर्न भारतीय विद्यार्थी आउने वातावरण सिर्जना गर्नुपर्छ।
साझा र समृद्ध भविष्यतर्फ सँगै मिलेर कामलाई अगाडि बढाउन हामी हाम्रो संयुक्त दृष्टिकोण दस्ताबेज प्रस्तुत गर्नेछौँ र संयुक्त प्रेस विज्ञप्तिमार्फत हाम्रा साझा उपलब्धि सार्वजनिक गर्नेछौँ।
यो महत्त्वपूर्ण अवसरमा सम्पूर्ण नेपाली जनताको तर्फबाट म प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई नेपाल भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्दछु। साथै, हिमालयको काखमा रहेको मुक्तिनाथ, भगवान् पशुपतिनाथ, तराईको उर्वर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी र शान्तिका दूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश नेपाल भ्रमण गर्न भारतका मैत्रीपूर्ण जनतालाई हार्दिक निमन्त्रणा गर्दछु।
नेपाल र भारतबीचको मित्रता यस्तो होस्, जहाँ विश्वास हिमालयझैँ अग्लो रहोस्, सहकार्य नदीझैँ निरन्तर बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फस्टाओस्।
हामी सबैलाई आशीर्वाद मिलोस्। धन्यवाद।
