बालेनमा विकासको ‘क्लियर भिजन’ देखेँ : भारतीय प्रधानमन्त्री मोदी
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मा देश विकासको स्पष्ट दृष्टिकोण देखेको बताएका छन् ।
सोमबार नयाँदिल्लीमा भएको भेटवार्ता र केही घण्टाको संवादपछि मोदीले बालेनको नेतृत्व र नेपालको भविष्यप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका हुन् ।
संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले बालेनसँगको कुराकानीका क्रममा आफूले नेपालको विकास र भारत–नेपाल सम्बन्धको भविष्यबारे उनको स्पष्ट सोच महसुस गरेको बताए । उनले बालेनलाई नेपाललाई अघि बढाउने दृष्टिकोण र प्रतिबद्धता भएको नेताका रूपमा प्रस्तुत गरे ।
मोदीले नेपालमा बालेनले प्राप्त गरेको जनादेशलाई नयाँ पुस्ताको आकांक्षाको प्रतिबिम्बका रूपमा समेत व्याख्या गरे । नेपालका युवाले परिवर्तन र विकासको अपेक्षासहित दिएको मतलाई सम्बोधन गर्ने जिम्मेवारी बालेनको काँधमा रहेको उनको भनाइको आशय थियो ।
प्रधानमन्त्री बनेपछि संयुक्त राष्ट्रसंघको मञ्चमा बालेनले दिएको मन्तव्यको पनि मोदीले प्रशंसा गरे । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विकास, जलवायु परिवर्तन र हिमाली क्षेत्रका चुनौतीबारे बालेनले राखेका धारणा उनको प्राथमिकता र सोचसँग जोडिएको मोदीको टिप्पणी थियो ।
मोदीले भारत सधैँ समृद्ध र सबल नेपाल निर्माणको यात्रामा साझेदार रहँदै आएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण निर्णयहरू गरिएको बताए ।
बालेनको नेतृत्वप्रति मोदीले सार्वजनिक रूपमा गरेको यो प्रशंसालाई भारतले नयाँ नेपाली सरकारसँग सम्बन्ध विस्तार गर्न खोजेको कूटनीतिक सन्देशका रूपमा पनि हेरिएको छ ।
