नेपाल-भारतबीच ८ समझदारी समझदारी, के-के?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।
दुई देशले सुरक्षा, प्रशासनिक क्षमता अभिवृद्धि, स्वास्थ्य, प्रविधि, सहरी विकास र कृषि उत्पादनसँग जोडिएका क्षेत्रमा साझेदारी अघि बढाउने सहमति गरेका हुन् ।
समझदारीअनुसार फरेन्सिक विज्ञानको अध्ययन तथा अनुसन्धानमा भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच सहकार्य हुनेछ । प्रहरीको व्यावसायिक क्षमता बढाउन भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच पनि सहकार्य गर्ने सहमति भएको छ ।
त्यस्तै, नेपाली प्रशासनिक अधिकारीको क्षमता अभिवृद्धिका लागि भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच तालिम तथा प्रशिक्षणमा सहकार्य हुनेछ । यसबाट सरकारी कर्मचारीको कार्यक्षमता र प्रशासनिक दक्षता बढाउने अपेक्षा गरिएको छ ।
स्वास्थ्य क्षेत्रतर्फ दुवै देशले आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिको अध्ययन, अनुसन्धान र प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन् । आधुनिक स्वास्थ्य सेवा तथा चिकित्सकीय क्षेत्रमा पनि साझेदारी विस्तार गर्ने समझदारी भएको छ ।
प्रविधितर्फ भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सम्बन्धित मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माणमा सहकार्य गर्ने सहमति भएको छ । यसले सञ्चार सेवाको पहुँच र प्रविधिगत क्षमता विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, दिगो सहरी विकासका लागि प्राविधिक सहयोग आदानप्रदान गर्ने, पशुपालन तथा मत्स्यपालनको विकासमा सहकार्य गर्ने विषय पनि समझदारीमा समेटिएका छन् ।
यी आठ समझदारीले नेपाल–भारत सम्बन्धलाई परम्परागत कूटनीतिक तथा आर्थिक सहकार्यभन्दा बाहिर सुरक्षा, प्रशासन, स्वास्थ्य र प्रविधिजस्ता क्षेत्रमा समेत विस्तार गर्ने संकेत गरेका छन् ।
