`

बालेन शासनकालमै नेपाल नरहन सक्छ : चित्रबहादुर केसी (अडियाे वार्ता)

जङ्‍ग तामाङ ७ मंसिर २०८३ १७:१३
बिशेष

विगतमा ग्रेटर नेपालको पक्षमा देखिएर राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री बालेनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग नेपाल–भारत सीमा समस्या समाधानका विषयमा गम्भीर कूटनीतिक संवाद गरेनन्।

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सुस्ता क्षेत्रमा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पनि ठोस पहल भएन। यद्यपि, दुवै प्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा सीमाबारे छलफल भएको उल्लेख छ।

तर, भ्रमणको मुख्य प्राथमिकता सीमा विवादको समाधान हुनुपर्नेमा त्यसो हुन सकेन। यही विषयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग जंग तामाङले गरेको टेलिफोन संवाद :

भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेनले समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्या समाधानको विषयलाई प्राथमिकता दिएनन्। सीमा समस्या प्राथमिकतामा नपर्नुपर्ने विषय हो र?

एकदमै प्राथमिकतामा पर्नुपर्ने विषय हो नि। त्यस्तो पनि हुन्छ?

तर, उनले कूटनीतिक मञ्चमा किन यो विषयमा संवाद गर्न चाहेनन्?

अब नेपालका राजनीतिक पार्टीहरूमा आमालाई पोइल पठाएर जारी उठाई खाने प्रवृत्ति पनि छ। अनि, भारतीय शासकका अगाडि सीमाको विषय उठाउन कहाँ सक्छन्? त्यस्तो कुरा गर्ने ल्याकत भएको भए त भ्रमणमा बोलाउँदैनथे। अर्थमन्त्री (स्वर्णिम वाग्ले)ले पनि अब भारतको विरोध गरेर राष्ट्रवादी हुने जमाना नेपालमा सकियो भनेको देख्नुभएन भारत गएर?

त्यसको अर्थ भारतले नेपाली भूमि मिचे पनि नेपालले विरोध गर्दैन भन्न खोजेका हुन् उनले?

त्यही त हो नि। स्वयं प्रधानमन्त्री बालेनले संसद्को रोस्ट्रममा उभिएर नेपालले भारतको भूमि ठाउँठाउँमा मिचेको छ भनेका होइनन्? बल्लबल्ल टेको लगाएर संसद् लगेका थिए, त्यहाँ उभिएर त्यस्तो बोले। जबकि, ७० भन्दा बढी ठाउँमा भारतले सीमा मिचेको छ। कालापानी र लिपुलेकको कुरा छँदैछ। सुस्ता पनि छँदैछ।

२००७ सालपछिको मोटामोटी राजनीतिक गतिविधि त मैले पनि देखेको छु। यस्तो अवस्थामा भारतको विरोध गरेर राष्ट्रवादी हुने जमाना गयो भनेर भारतीय शासकका अगाडि भन्नु, राष्ट्रियताको पक्षमा र नेपाललाई हित हुने गरी यिनीहरूले कुरा गर्छन् भन्ने विश्वास भएको भए त बालेनलाई निम्तै दिने थिएनन्। मुकुल ढकालले त पोहोरै भनेका थिए कि यी नयाँ लाहुरेहरूबाट जे–जे काम लिन सकिन्छ, त्यो सबै हिसाबकिताब गरेर भारतीय शासकहरूले बोलाएका हुन्।

उसको अर्थ बालेन सरकारकै कार्यकालमा नेपालको अस्तित्व समाप्त हुन सक्छ?

ठूलो खतरा छ। तपाईं–हामीले देख्दादेख्दै सिक्किम भारतमा विलय भयो। भुटान पनि एक प्रकारको बफर स्टेटका रूपमा छ। अब पालो नेपालकै हो। भारतले लिपुलेक र कालापानीमा त्यत्रो संख्यामा भारतीय सेना राखेको छ। ठाउँठाउँमा सीमा मिचेको छ। नेपालको जलस्रोत कब्जा गरेको छ। नेपालले उत्पादित सामग्री भारत लैजानुपर्‍यो भने ८४ तिकडम गरेर व्यापारीहरूलाई रुवाउने र बदमासी गर्ने काम भइरहेको छ।

हामी त भारतका उपभोक्ता भयौँ। भारतीय सामान नेपाल आउँदा यहाँका उद्योगधन्दा र कलकारखाना ब्रिटिस वा जंगबहादुरकै पालामा खत्तम पारिएका थिए। पछि पञ्चायतकालमा रुस र चीनले केही सीमित कलकारखाना खोलिदिएका थिए। तर, ती पनि तुरुन्तै बन्द गराएर बहुराष्ट्रिय कम्पनीका सामान आउने र नेपालको कुनाकाप्चासम्मै पुर्‍याउने काम भयो।

यो देशलाई औद्योगीकरण गरेर होइन, पूर्णतः उदारीकरण गरेर परनिर्भर बनाउने काम भयो। नेपालका शासकहरूले पनि लामो समयदेखि त्यही काम गर्दै आए। अहिलेका नयाँहरूले त मुनरो डक्ट्रिन लागू गर्नुपर्छ भनेर घोषणा नै गरिरहेका छन्। त्यस्तो कुरा गर्ने मान्छे अहिले देशको अर्थमन्त्री भएको देख्नुभएन?

मुनरो डक्ट्रिन लागू गर्नुपर्छ भन्नु भारतीय हस्तक्षेप सहर्ष स्वीकार गर्नुपर्छ भनेका हुन् डा. वाग्लेले?

त्यही हो। खुलेआम भनेकै छन् त। नेपाली सेना घटाउनुपर्छ पनि भनेका छन्। भारतमा उद्योगधन्दा खुलेपछि यहाँका सारा उद्योग कलकारखाना बन्द गराइए। यहाँका राजनीतिक पार्टीहरू पनि विदेशीहरूले जे–जे एजेन्डा बोकाउँछन्, त्यही कार्यान्वयन गर्छन् र चुनाव जित्छन्। मैले आरोप लगाएको होइन, देखेकै कुरा हो।

मैले पनि राजनीति गर्दै आएको छु। संसद्मा पटकपटक गएँ। मन्त्रिपरिषद्मा बस्दासमेत मैले धेरै कुरा देखेको छु। यहाँ संविधान बनाउँदा भएको भारतीय हस्तक्षेप र दिइएको दबाब सबै देखेको छु। सिक्किम भारतमा विलय भयो। भुटान बफर स्टेट भयो। अब पालो नेपालको हो। नेपाललाई चारैतिरबाट घेरेर यहाँका शासकहरूलाई उपयोग गर्दै नेपालको राष्ट्रियता समाप्त पार्ने काम हुन सक्छ। मलाई त अत्यन्तै डर लागेको छ। म त डराइरहेको छु।

बालेनको कार्यकालमा नेपाल सिक्किमीकरणको बाटोमा जाँदै छ त?

धेरै सम्भावना छ।

उसको अर्थ विगतमा ग्रेटर नेपालको नक्सा राख्ने प्रधानमन्त्री बालेनले अहिले सीमा समस्याबारे छलफल गर्न नचाहनु र लिपुलेक, लिम्पियाधुरा, कालापानी तथा सुस्ताको भूमि फिर्ता ल्याउन समकक्षी मोदीसँग कूटनीतिक संवाद नगर्नुले उनको खोक्रो राष्ट्रवाद उदांगो भयो?

हो, खोक्रो राष्ट्रवाद हो। नेपाली जनतालाई उल्लु बनाउन र बेवकुफ बनाउन गरिएको कुरा हो। अरू भ्रष्टाचारीलाई कारबाही गर्न खोज्ने, तर मालपानीको आठ करोड पर्ने गाडी चढेर आफू चुनाव प्रचारमा हिँड्ने? त्यसपछि उनले कस्ता सल्लाहकार राखेका छन् भन्ने प्रश्न उठ्छ। उनले देशभक्त सल्लाहकार किन राखेनन्?

यो आठ–नौ महिनामा नेपाली जनताले देखिहाले। पुराना पार्टीहरूको भ्रष्टाचार र नालायकीबाट विदेशीहरूले जुन फाइदा उठाउनुपर्ने हो, उठाए। अहिले देशमा झन् संकट चुलिँदै गएको छ। नेपाल राष्ट्रको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा भएको छ।

उसको अर्थ बालेनकालमा नेपाल–भारत सीमा समस्या समाधान हुँदैन?

कहाँबाट हुनु? सीमाबारे कुरा राख्ने खुबीसमेत राख्दैनन्। त्यस्तो क्षमता भएको भए भारतले बोलाउँदै बोलाउने थिएन नि। जे भन्छन्, त्यही मान्ने भएकाले बोलाएका हुन्। स्वर्णिम वाग्ले गएर संकेत गरिहाले। मुकुल ढकालले त सिक्किम र भुटान हुन हामी तयार छौँ, प्रधानमन्त्री बनाउनुपर्‍यो भनेको पनि पोहोरै देख्नुभयो। यसरी खुलेआम आफ्नो मातृभूमिलाई, आफूलाई जन्म दिने आमालाई पोइल पठाएर जारी बुझेर खाने कुपुत्रहरू नेपाल भूमिमा पैदा भइरहेका छन्।

बालेन शासनकालको आठमहिने अवधिलाई तपाईंले कसरी समीक्षा गर्नुभएको छ?

सबैले देखिरहेका छन् नि। अधिकांश सुकुम्बासीले घण्टीमा छाप हाने। तर, चुनाव जितेर आउनेबित्तिकै काठमाडौंका सुकुम्बासीको अहिले के हालत भयो? बालेनले डोजर लगाइहाले नि। उनको फासिवादी प्रवृत्ति देखिहालियो। सुकुम्बासीहरूको हालत के छ? होल्डिङ सेन्टरमा उनीहरूले कस्तो आपत्–विपत् भोगिरहेका छन्?

विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने, मजदुर संगठनहरूमाथि प्रतिबन्ध लगाउने काम सुरु भइसकेको छ। पुराना पार्टीहरूले गरेका गल्ती र कमजोरीबाट वाक्कदिक्क भएका नेपाली जनताले अब बालेन आएपछि देशमा सुधार हुन्छ, सुख र शान्ति आउँछ भन्ने आशा गरे। पुराना पार्टीप्रतिको आक्रोशका कारण उनीहरूले नयाँलाई मत दिए। शक्ति राष्ट्रहरूले पुराना पार्टीहरूबाट जति काम लिन सक्थे, लिए। त्यसपछि तिनीहरूलाई पाखा लगाएर अहिले नयाँ भनिने शक्तिलाई सिधै अगाडि ल्याइएको हो।

प्रधानमन्त्री बालेन संसद्मा आउँदैनन्, संसद्प्रति जवाफदेही हुँदैनन्। रास्वपाका सांसदहरू भने उनी सिंहदरबारमा बसेर काम गर्दैछन् भन्छन्। उनी साँच्चिकै देशलाई समृद्धि र विकासको बाटोमा लैजाने गरी काम गर्दैछन् कि अरू नै काममा व्यस्त छन्?

अरू नै काम हो। म पनि दुई–चारपटक संसद्मा गएको छु। हाम्रो संसदीय प्रणालीमा प्रधानमन्त्री जन्माउने संस्था संसद् हो। पुराना पार्टीहरूका गल्ती र कमजोरी भए पनि ती दलका प्रधानमन्त्रीहरूले संसद्को सामना गर्थे। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन्थे। प्रधानमन्त्री भएपछि आफ्नो नीति तथा कार्यक्रमबारे देशवासीका नाममा सम्बोधन गर्थे। देशमा संकट आउँदा नागरिकलाई आश्वस्त पार्न सम्बोधन गर्थे। कम्तीमा आफ्नो विचार र पार्टीका नीति संसद्मा राख्थे।

यहाँ त स्याल आयो कि कुकुर आयो कि प्रधानमन्त्री आए भन्ने थाहै हुँदैन। देशमा ठूल्ठूला संकट आए, घटनाहरू घटे। नेपाललाई कसरी सिध्याउने भनेर विदेशीहरू लागेका छन् र नेपाल उनीहरूको खेलमैदान बनेको छ। नेपालमा कहिल्यै नमनाइएको दलाई लामाको जन्मदिन मनाइन्छ। दलाई लामाको संस्थामा काम गरेका मानिसले मन्त्रालय कब्जा गरेर बसेका छन्।

अब देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेको छ। विदेशीहरूले सुनियोजित रूपमा गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)बाट तयार पारेका मानिसहरू सरकार र कर्मचारीतन्त्रमा पुगेपछि नेपालको अस्तित्व रहन्छ कि रहँदैन?

नेपाल भूराजनीतिक चक्रव्यूहमा फसिसक्यो?

असाध्यै फसेको छ। विदेशीहरूले खुलेआम फसाइसके। सिक्किमका जनताले जे भोगेका छन्, भुटानका जनताले जे भोगेका छन्, यहाँका नेपाली जनताले पनि त्यही भोग्नुपर्ने अवस्था आउन सक्छ। अझ अमेरिकीहरूले आफ्ना विरोधीहरूलाई तह लगाउन के–के गर्ने हुन्, त्यो हेर्न बाँकी छ। नेपालको भविष्य अत्यन्तै अन्धकार देखिरहेको छु। त्यसकारण नेपाली जनता सतर्क र सजग हुनुपर्छ। नेपाल जोगाउने भनेकै नेपाली जनताले हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *