देखियो दिल्लीमा बालेनको ‘खोक्रो’ राष्ट्रवाद!
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर हुँदा भारतसँगको सीमा विवादमा कडा अभिव्यक्ति दिने, ‘ग्रेटर नेपाल’को नक्सा सार्वजनिक गरेर राष्ट्रियताको मुद्दालाई चर्चामा ल्याउने वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेपछि भने त्यही भारतसँगको वार्तामा अपेक्षित अडान प्रस्तुत गर्न नसकेको चर्चा चलिरहेको छ।
दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आत्मीय अंकमाल, प्रशंसा र सम्मान पाएर फर्किएका बालेनको भ्रमणले पुरानो राष्ट्रवादी छवि र अहिलेको कूटनीतिक व्यवहारबीच तुलना गर्ने बहस जन्माएको हो।
मेयर हुँदा बालेनले भारतसँग जोडिएका संवेदनशील विषयमा आक्रामक शैली अपनाएका थिए । सीमा अतिक्रमण र राष्ट्रिय स्वाभिमानका विषयमा उनले सामाजिक सञ्जालमार्फत कडा अभिव्यक्ति दिएका थिए । ‘ग्रेटर नेपाल’को नक्सा सार्वजनिक गरेर पनि उनले राष्ट्रियताको मुद्दामा आफ्नो अलग पहिचान बनाएका थिए । त्यसबेला उनका समर्थकले उनलाई परम्परागत राजनीतिक नेतृत्वभन्दा फरक, भारतसँग नझुक्ने र राष्ट्रिय हितमा स्पष्ट अडान राख्ने नेताका रूपमा चित्रित गरेका थिए ।
तर, प्रधानमन्त्री बनेपछि भारतको राजकीय भ्रमणमा पुगेका बालेनको व्यवहारलाई लिएर आलोचना सुरु भएको छ । मोदीले उनलाई विश्वकै कान्छा प्रधानमन्त्री भन्दै प्रशंसा गरे, नेतृत्व र दूरदर्शिताको चर्चा गरे । दुई प्रधानमन्त्रीबीच आत्मीय संवाद भयो, अंकमाल भयो र विभिन्न क्षेत्रमा सहकार्यका समझदारी पनि बने । तर, नेपालका दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएका सीमा विवाद, हवाई प्रवेश मार्ग, पञ्चेश्वर परियोजना र जलस्रोतको उपयोगजस्ता विषयमा ठोस उपलब्धि सार्वजनिक हुन सकेन ।
झन्डै दुई तिहाइ जनमतको बलमा दिल्ली पुगेका प्रधानमन्त्रीबाट जनताले केवल सम्मान र प्रशंसाभन्दा बढी अपेक्षा गरेका थिए । भारतसँगको सम्बन्ध सुधार्नु आवश्यक भए पनि सम्बन्धको आत्मीयता राष्ट्रिय मुद्दामा परिणाम हासिल गर्ने माध्यम बन्नुपर्ने थियो । तर, भ्रमणमा स्वागत र सम्मानको तामझाम बढी, रणनीतिक उपलब्धि कम भएको आलोचना हुन थालेको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि भ्रमणलाई अपेक्षाअनुसार सफल मान्न नसकिने बताएका छन् । भारतले नेपाललाई दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरे पनि उक्त रकम अनुदान हो कि ऋण भन्ने स्पष्ट नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । विगतमा भारतबाट भएका ठूला सहयोगका प्रतिबद्धता कार्यान्वयनमा ढिलाइ हुने गरेको उनको टिप्पणी छ ।
खनालका अनुसार भ्रमणमा नेपालको वास्तविक प्राथमिकता समेटिएन । नियमित प्रक्रियाका विषयमा छलफल भए पनि आम नागरिकले अपेक्षा गरेजस्तो नयाँ उपलब्धि हासिल हुन सकेन । मेयर हुँदा सीमा विवादमा कडा अभिव्यक्ति दिने बालेनले प्रधानमन्त्रीका रूपमा भारतसँग प्रभावकारी अडान लिन नसकेको उनको आरोप छ ।
नेपाल–भारत सीमा विवाद कायम रहेकै अवस्थामा भारतले सीमावर्ती क्षेत्रमा सडक निर्माण गरी उद्घाटन गरेको विषय मोदीले उल्लेख गर्दा प्रधानमन्त्री शाहले सहज रूपमा सुनेको भन्दै खनालले कटाक्ष गरेका छन् । उनले प्रधानमन्त्रीको प्रतिक्रिया र व्यवहारलाई लिएर व्यंग्य गर्दै राष्ट्रिय मुद्दामा अपेक्षित संवेदनशीलता नदेखिएको टिप्पणी गरेका छन् ।
खनालले भ्रमणको तयारी पनि पर्याप्त नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, कूटनीतिज्ञ, बुद्धिजीवी र विषयविज्ञसँग छलफल गरी साझा राष्ट्रिय एजेन्डा तय गर्नुपर्नेमा सीमित समूहको प्रतिनिधित्व गरेर प्रधानमन्त्री भारत गएको उनको आरोप छ । देशको प्रधानमन्त्री विदेश जाँदा सिंगो राष्ट्रको आवाज बोकेर जानुपर्ने उनको भनाइ छ ।
हवाई प्रवेश मार्गको विषय पनि भ्रमणको अधुरो एजेन्डा बनेको छ । भैरहवा, महेन्द्रनगर र जनकपुरका हवाई प्रवेश मार्गमा सहमति जुट्न नसक्दा नेपालको अन्तर्राष्ट्रिय उडान विस्तार र पर्यटन विकासमा देखिएको अवरोध कायमै रहने देखिएको छ । भारतले बागडोग्रा विमानस्थलसँग जोडिएको रणनीतिक चासो अघि सार्दै हवाई मार्गको विषयलाई प्याकेजमा टुंग्याउन खोजेको बताइए पनि नेपालको माग सम्बोधन हुन सकेन ।
सीमा विवाद समाधानका लागि विगतमा भएका प्रतिबद्धता पनि यसपटक दोहोरिएनन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने विषय संयुक्त अभिव्यक्तिमा समेटिएको थियो । तर, बालेनको भ्रमणमा त्यो प्रतिबद्धता नआएको भन्दै आलोचकहरूले प्रश्न उठाएका छन् । ईपीजी प्रतिवेदन र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबारे पनि उल्लेख्य प्रगति देखिएन ।
प्रमुख प्रतिपक्षी एमालेले पनि भ्रमणप्रति असन्तुष्टि जनाएको छ । एमाले सचिव डा. राजन भट्टराईले पुरानै आयोजना अघि बढाउने र सम्पन्न परियोजनाको उद्घाटन गर्नुलाई नयाँ उपलब्धि भन्न नसकिने बताएका छन् । हवाई प्रवेश मार्ग, सीमा विवाद, विद्युत् व्यापार, जलस्रोतको उपयोग र तराईको डुबान नियन्त्रणजस्ता विषयमा प्रभावकारी छलफल हुन नसकेको उनको आरोप छ ।
भट्टराईले पनि मेयर हुँदा बालेनले दिएका अभिव्यक्ति र प्रधानमन्त्रीका रूपमा भारतसँग प्रस्तुत भएको व्यवहारबीच विरोधाभास रहेको टिप्पणी गरेका छन् । सीमा विवादमा कडा अडानको छवि बनाएका बालेनले अहिले अपेक्षित परिणाम निकाल्न नसकेको उनको भनाइ छ ।
यद्यपि भ्रमणका सबै पक्ष निराशाजनक भने छैनन् । नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा आठवटा समझदारी भएका छन् । क्रिकेटमा सहकार्य विस्तार, नेपालमा भारतीय कम्पनीका शाखा खोल्ने विषय र विभिन्न विकास आयोजनासम्बन्धी सहमतिलाई सकारात्मक मानिएको छ ।
अयोध्या र जनकपुरधामलाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटनले धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । तर, यस्ता सहकार्यले सीमा, हवाई मार्ग र जलस्रोतजस्ता रणनीतिक मुद्दाको अभाव पूर्ति गर्न नसक्ने आलोचकहरूको तर्क छ ।
भ्रमणको समर्थनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत खुलेर उभिएका छन् । उनले बालेनको भारत भ्रमणलाई मधेस, मधेसी समुदाय र युवा पुस्ताका लागि गौरवको विषय बताएका छन् । नेपालको शासनसत्ताको नेतृत्वमा मधेसी समुदायको प्रतिनिधित्व हुनु ऐतिहासिक परिवर्तन भएको उनको भनाइ छ । राउतका अनुसार बालेनको उदयले मधेसी समुदायमा राजनीतिक आत्मविश्वास बढाएको र मधेसको भविष्यका लागि नयाँ सम्भावना खोलेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य भूपदेव शाहले पनि भ्रमण सफल भएको बताएका छन् । उनका अनुसार भ्रमणले नेपाल र भारतबीच सांस्कृतिक तथा आर्थिक सहकार्यका लागि विश्वासको वातावरण निर्माण गरेको छ । दक्षिण एसियामा राजनीतिक स्थायित्व कायम गर्न छिमेकी मुलुकहरूबीच उच्च राजनीतिक तहमा आत्मीय सम्बन्ध र सघन सहकार्य आवश्यक रहेको उनले बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री शाहले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए भने मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए । भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी थिए । भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ नेपाल वायुसेवाको नियमित उडानबाट स्वदेश फर्किएका छन् ।
बालेनको दिल्ली भ्रमणले मोदीसँगको व्यक्तिगत सम्बन्ध सुधार्ने र दुई देशबीच संवादको वातावरण बनाउने काम गरेको छ । तर, कूटनीतिक सफलताको मापन प्रशंसा, अंकमाल र स्वागतको भव्यताले मात्र हुँदैन । राष्ट्रिय हितका मुद्दामा कति प्रगति भयो र भएका प्रतिबद्धता कति कार्यान्वयन हुन्छन् भन्ने आधारमा भ्रमणको मूल्यांकन हुनेछ ।
मेयर हुँदा ‘ग्रेटर नेपाल’को नक्सा सार्वजनिक गरेर राष्ट्रियताको प्रतीक बनेका बालेन प्रधानमन्त्रीका रूपमा दिल्ली पुग्दा सीमा, एयररुट र जलस्रोतका विषयमा ठोस परिणाम ल्याउन नसकेको आलोचना खेपिरहेका छन् । मोदीको प्रशंसा बालेनका लागि राजनीतिक उपलब्धि हुन सक्छ, मधेसका लागि उनको प्रधानमन्त्रीत्व गौरवको विषय हुन सक्छ । तर, नेपालका लागि सीमा, एयररुट र जलस्रोतका मुद्दा अझै अधुरै छन् ।
दिल्लीमा आत्मीयता बढेको छ, अब त्यसलाई राष्ट्रिय हितमा बदल्ने जिम्मेवारी प्रधानमन्त्री शाहकै काँधमा छ।
