इरानको सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने गालिबाफको अडान
काठमाडौं । इरानले आफ्ना सातवटा पूर्वसर्त पूरा नभएसम्म अमेरिकासँग कुनै पनि वार्ता नगर्ने अडान दोहोर्याएको छ । इरानी संसद्का सभामुख मोहम्मद बघेर गालिबाफले अमेरिकी पक्षले सर्त पूरा नगरेसम्म वार्ताको सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा सामुद्रिक प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा तीनवटा तेल ट्याङ्करमा बारुदी सुरुङ विस्फोट गराएको र त्यसबाट आगलागी भएको दाबी गरेको भोलिपल्ट गालिबाफको यस्तो अभिव्यक्ति आएको हो । यद्यपि पश्चिमी निकायहरूले उक्त घटनाबारे इरानको दाबी स्वतन्त्र रूपमा पुष्टि नभएको बताएका छन् ।
करिब नौ महिनादेखि जारी युद्ध अन्त्य गर्न कतारले मध्यस्थताको प्रयास गरिरहेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि कतारी प्रधानमन्त्रीसँग वार्ताको सम्भावनाबारे छलफल गरिरहेका छन् । तर इरान र अमेरिकाबीचको अडानमा सहमति नजुट्दा कूटनीतिक प्रयासले गति लिन सकेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्थमन्त्री स्कट बेसेन्टका चेतावनी तथा इरानको छाया बैंकिङ सञ्जालमाथि अमेरिकाले लगाएको नयाँ प्रतिबन्धपछि गालिबाफले थप कडा प्रतिक्रिया दिएका छन् । अमेरिकाले कुनै गल्ती गरे युद्धको भूगोल नै बदलिदिने उनको चेतावनी छ ।
इरानले अघि सारेका सात सर्तमध्ये लेबनानसहित सबै मोर्चामा युद्धविराम, अमेरिकी सामुद्रिक नाकाबन्दी हटाउने, प्रतिबन्ध फुकुवा गर्ने, रोक्का गरिएको इरानी सम्पत्ति फिर्ता गर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिने विषय प्रमुख छन् । इरानले यी माग पूरा नभएसम्म वार्तामा बस्न तयार नरहेको जनाएको छ ।
अर्कोतर्फ अमेरिकाले इरानको आणविक कार्यक्रमलाई आफ्नो वार्ताको प्रमुख विषय बनाएको छ । आणविक गतिविधिमा इरानले सहुलियत दिनुपर्ने अमेरिकी चाहना र प्रतिबन्ध हटाउनुपर्ने इरानी अडानबीच सहमति जुट्न सकेको छैन ।
यसैबीच अमेरिकाले करिब ५० वटा पानीजहाजमाथि भएका साइबर आक्रमण र बम विस्फोटको धम्कीमा इरान वा रुसको संलग्नता रहे–नरहेकोबारे अनुसन्धान गरिरहेको छ ।
युद्ध र वार्ता दुवै अनिश्चित बने पनि कूटनीतिक पहल अघि बढ्न सक्ने आशा तथा बजारमा तेल आपूर्ति बढ्ने अनुमानले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल करिब ८९ डलरमा झरेको छ ।
तेलको मूल्य घट्दा केन्या र इजिप्टजस्ता आयातकर्ता अफ्रिकी मुलुकलाई राहत पुग्ने देखिएको छ । तर नाइजेरिया, अङ्गोला र लिबियाजस्ता तेल निर्यात गर्ने देशको आम्दानीमा भने दबाब पर्न सक्छ ।
अब नोभेम्बर २९ मा हुने ओपेक प्लसको बैठक र कतारको मध्यस्थताले अमेरिका–इरान तनावको आगामी दिशा निर्धारण गर्न सक्ने अपेक्षा गरिएको छ । वार्ताको ढोका खुल्ने वा युद्ध थप चर्किने भन्ने विषय दुवै पक्षको अडानमा निर्भर देखिएको छ ।
