बलुचिस्तानमा पाकिस्तानी सेनाको धावा, चार दिनमा १२ जना मारिए
काठमाडाैं। पाकिस्तानको बलुचिस्तान प्रान्तमा पाकिस्तानी सेनाले चार दिनसम्म चलाएको विशेष सुरक्षा अभियानमा १२ जना मारिएका छन् । नोभेम्बर २० देखि २३ सम्म चार जिल्लामा सञ्चालन गरिएका छुट्टाछुट्टै कारबाहीमा उनीहरू मारिएको पाकिस्तानी सेनाले जनाएको छ ।
सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार नुश्की, सिबी, पन्जगुर र केच जिल्लामा गुप्तचर सूचनाका आधारमा सुरक्षा कारबाही गरिएको थियो ।
नोभेम्बर २० मा नुश्की जिल्लामा विद्रोही लुकेको स्थानलाई लक्षित गरी गरिएको कारबाहीमा आठ जना मारिएका थिए । उनीहरू पाकिस्तान सरकारले ‘फितना अल हिन्दुस्तान’ नाम दिएको समूहका सदस्य रहेको सेनाको दाबी छ । कारबाहीका क्रममा हतियार तथा गोलीगठ्ठासमेत बरामद गरिएको जनाइएको छ ।
त्यसको भोलिपल्ट सिबी जिल्लामा विद्रोहीहरूको आवागमन रोक्ने क्रममा थप दुई जना मारिएको आईएसपीआरले जनाएको छ । नोभेम्बर २२ र २३ मा पन्जगुर तथा केच जिल्लामा गरिएका छुट्टाछुट्टै कारबाहीमा थप दुई जनाको मृत्यु भएको थियो ।
सेनाले राष्ट्रिय कार्ययोजनाअन्तर्गत सञ्चालन भइरहेको ‘अज्म-ए-इस्तेहकाम’ अभियानमार्फत आतंकवादविरुद्धको कारबाही थप तीव्र बनाउने जनाएको छ । पाकिस्तानले विदेशी समर्थन प्राप्त आतंकवादी गतिविधि अन्त्य गर्ने लक्ष्यसहित अभियान जारी राखेको दाबी गरेको छ ।
यसैबीच, राष्ट्रपति आसिफ अली जरदारीले सुरक्षा बलको कारबाहीको प्रशंसा गर्दै आतंकवादविरुद्धको अभियान मुलुकको शान्ति र स्थायित्वका लागि आवश्यक रहेको बताएका छन् । गृहमन्त्री मोहसिन नक्वीले पनि सुरक्षा बलको प्रयासको प्रशंसा गरेका छन् ।
पाकिस्तानमा पछिल्लो समय बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा सशस्त्र हिंसाका घटना बढ्दै गएका छन् । सरकारी सुरक्षा बल र विद्रोही समूहबीचको द्वन्द्वले सुरक्षा चुनौती थप जटिल बनाएको छ ।
यसअघि नोभेम्बर २१ मा बलुचिस्तानको मस्तुङ जिल्लामा भएका दुई छुट्टाछुट्टै सुरक्षा कारबाहीमा १५ जना मारिएको सेनाले जनाएको थियो । त्यस्तै, नोभेम्बर १४ मा बलुचिस्तान र खैबर पख्तुनख्वामा भएका कारबाहीमा एक मेजरसहित चार सैनिकको मृत्यु भएको तथा २४ जना विद्रोही मारिएको सेनाको दाबी थियो ।
पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडिजका अनुसार नोभेम्बर ६ देखि १२ सम्म देशभर सशस्त्र आक्रमणको संख्या घटे पनि मानवीय क्षति भने बढेको थियो । उक्त अवधिमा खैबर पख्तुनख्वामा १६ आक्रमणमा ४४ जनाको मृत्यु भएको थियो भने बलुचिस्तानमा १३ आक्रमण हुँदा आठ जनाको मृत्यु र १९ जना घाइते भएका थिए ।
लगातार भइरहेका आक्रमण र सैन्य कारबाहीले पाकिस्तानका दुई अशान्त प्रान्तमा सुरक्षा संकट अझ गहिरिँदै गएको देखिएको छ ।
