`

होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग  

Nepal One HD १० मंसिर २०८३ २१:२६
राजनीति

काठमाडौं । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट समेत सुकुम्बासीलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेको हो ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन तथा लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयबाट समेत हटाउन खोजेको उल्लेख गरिएको छ ।
कांग्रेसले सरकारको उक्त निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्य नागरिकको अभिभावक हो । घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व हो, उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्नु होइन।’

भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने कांग्रेसको धारणा छ। सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर नभई उनीहरूको समस्या हटाएर गर्नुपर्ने पार्टीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *