रवि-बालेनको राष्ट्रपतिसँग भेट, शीतलनिवासमा के भयो कुरा?
काठमाडौं । भारत भ्रमणमा जानुअघि राष्ट्रपतिसँग परामर्श नगरेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री वालेन्द्र शाह भ्रमण सकेर फर्किएपछि बल्ल शीतलनिवास पुगेका छन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको भेटमा प्रधानमन्त्रीले भारत भ्रमणका गतिविधि र उपलब्धिबारे जानकारी गराएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा भारत भ्रमणको विवरणसँगै मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्य राष्ट्रिय विषयमा पनि छलफल भएको थियो। तर, कुन विषयमा कस्तो धारणा आदानप्रदान भयो र भारत भ्रमणका कुन उपलब्धिबारे राष्ट्रपतिलाई जानकारी गराइयो भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
रोचक संयोग, प्रधानमन्त्री शाह राष्ट्रपतिलाई भेट्न पुगेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका छन्। एउटै दिन प्रधानमन्त्री र सत्तारूढ दलका सभापति शीतलनिवास पुग्नुले राजनीतिक वृत्तमा चासो बढाएको छ। तर, रवि र राष्ट्रपतिबीच के विषयमा कुराकानी भयो भन्ने विवरण सार्वजनिक भएको छैन।
भारत भ्रमणमा निस्कनुअघि राष्ट्रपतिसँग परामर्श नगरेको विषयमा प्रधानमन्त्रीको आलोचना भएको थियो। भ्रमण सकेर फर्किएपछि भएको भेटलाई यही विवादको पृष्ठभूमिमा पनि हेरिएको छ।
प्रधानमन्त्री बनेपछि बालेनले राष्ट्रपतिसँग गरेको यो दोस्रो भेट हो। यसअघि तराई क्षेत्रमा दंगा भड्किएपछि उनले राष्ट्रपति पौडेलसँग संवाद गरेका थिए।
