`

भारत भ्रमणलगत्तै किन चीन जाँदैछन् बालेन?

Nepal One HD १३ मंसिर २०८३ १२:२२
अर्थ समाचार

काठमाडौं। भारतको राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वदेश फर्किएको केही दिन नबित्दै चीन भ्रमणको तयारी अघि बढेको छ।

भारतसँग उच्चस्तरीय भेटवार्ता गरेर फर्किएका बालेन अब बेइजिङ पुग्ने तयारीमा छन्। चिनियाँ पक्षले मिति प्रस्ताव गरे आगामी जनवरीमै उनको चीन भ्रमण हुन सक्ने सरकारी अधिकारीहरूको भनाइ छ।

प्रधानमन्त्री भारतबाट फर्किन नपाउँदै चीन भ्रमणको चर्चा सुरु हुनु सामान्य कूटनीतिक औपचारिकता मात्र होइन। दक्षिणी छिमेकी भारतसँग सम्बन्ध अघि बढाएपछि उत्तरी छिमेकी चीनलाई पनि विश्वासमा लिनुपर्ने दबाब सरकारमाथि छ।

दिल्लीसँग निकटता बढेको सन्देश जाँदा बेइजिङ सशंकित नहोस् र चीनसँगको सम्बन्धमा पनि कुनै खाडल नदेखियोस् भन्ने रणनीतिका रूपमा यसलाई हेरिएको छ।

भारत भ्रमणअघि नै नेपाल आएका चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटेर प्रधानमन्त्री शाहलाई बेइजिङमा स्वागत गर्न चीन तयार रहेको सन्देश दिएका थिए।

राजदूतले भ्रमणको निश्चित मिति भने दिएका छैनन्। तर फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि नै बालेनलाई चीन भ्रमण गराउने बेइजिङको चाहना देखिएको छ।

भारतसँगको भ्रमणमा बालेनले उच्चस्तरीय भेटवार्ता गरे। अब चीन भ्रमणमा पनि त्यस्तै राजनीतिक र कूटनीतिक सक्रियता देखाउनुपर्नेछ। तर दुई छिमेकीसँग भेटघाट गर्नु र उनीहरूबाट नेपालको हितमा ठोस उपलब्धि हासिल गर्नु फरक कुरा हुन्।

चीनसँग नेपालको व्यापार घाटा, उत्तरी नाकाको सहज सञ्चालन, पारवहन सुविधा, पूर्वाधार विकास, ऊर्जा र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनजस्ता विषय वर्षौंदेखि थन्किएका छन्। चीनले बीआरआईलाई अघि बढाउन चाहेको छ भने नेपालले त्यसलाई कसरी र कुन सर्तमा कार्यान्वयन गर्ने भन्नेमा स्पष्टता आवश्यक छ।

भारत भ्रमणलगत्तै चीन जाने तयारीले बालेन सरकार दुई छिमेकीबीच सन्तुलन कायम गर्न खोजिरहेको सन्देश त दिएको छ। तर भ्रमणको उपलब्धि फोटो खिच्ने, स्वागत थाप्ने र संयुक्त वक्तव्य जारी गर्नेमा सीमित भयो भने त्यसको अर्थ रहने छैन।

दिल्लीमा देखाएको सक्रियता बेइजिङमा पनि दोहोर्‍याउने कि नेपालको राष्ट्रिय हितसँग जोडिएका पुराना मुद्दामा ठोस निर्णय गराउने ? बालेनको चीन भ्रमणको वास्तविक परीक्षा यही हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *