रुख-चारतारे खोसाखोसमा गगन-देउवा!
काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकता गुमाएपछि शेरबहादुर देउवा पक्षको राजनीतिक बाटो झन् अप्ठ्यारो बन्दै गएको छ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिक नेतृत्वका रूपमा अद्यावधिक गरेसँगै देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशनले मान्यता पाउने सम्भावना कमजोर बनेको छ।
अब देउवा पक्षलाई पार्टीको चारतारे झण्डा र रुख चिह्न प्रयोग गर्नसमेत कठिन हुने देखिएको छ।
आयोगले मंसिर ९ गते गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक विवरणमा अद्यावधिक गरेको हो। असोज १९ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते आयोगमा बुझाएको थियो। संशोधित विधान, महाधिवेशनबाट पारित दस्तावेज र निर्णयका आधारमा आयोगले उक्त कार्यसमितिलाई अद्यावधिक गरेको हो।
यससँगै देउवा पक्षले अघि बढाएको समानान्तर महाधिवेशनको हैसियतमाथि संकट देखिएको छ। आयोगमा महाधिवेशनको कार्यतालिका बुझाउँदैमा त्यसलाई आधिकारिकता प्राप्त भएको मान्न नमिल्ने आयोगको भनाइ छ। गगन पक्षको महाधिवेशनमा आयोगले प्रतिनिधि खटाएर निरीक्षणसमेत गरेको थियो। तर, देउवा पक्षको महाधिवेशनमा त्यस्तो प्रतिनिधि पठाउने तयारी देखिएको छैन।
देउवा समूहले भने आफ्नो गतिविधि रोकेको छैन। चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेर वडा हुँदै प्रदेश तहसम्मका अधिवेशन गरिसकेको उक्त समूहले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। असोज १३ गते सभापति देउवाको हस्ताक्षरसहित महाधिवेशनको कार्यतालिका आयोगमा बुझाइएको थियो। तर, निवेदन बुझाएको आधारमा मात्रै आयोगले देउवा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको ठहरिँदैन।
आधिकारिक नेतृत्वको मान्यता गगन पक्षले पाएपछि अब देउवा समूहले पार्टीको नाम, झण्डा र चुनाव चिह्न कसरी प्रयोग गर्छ भन्ने विषय पेचिलो बनेको छ। गगन पक्षले देउवा समूहलाई कांग्रेसको झण्डा र रुख चिह्न प्रयोग गर्न रोक लगाउन आयोगको ध्यानाकर्षण गराउने तयारीसमेत गरेको छ। आधिकारिक पार्टीको पहिचान प्रयोग गर्न नपाउने अवस्था आए देउवा पक्षको महाधिवेशन कुन नाम र चिह्नमा हुन्छ भन्ने बहस सुरु भएको छ।
यसैबीच, गगन थापाले समानान्तर गतिविधिमा लागेका नेता–कार्यकर्तालाई पार्टी छाडेर अर्को दलमा जाने भए राजीनामा दिन चुनौती दिएका छन्। केन्द्रीय समिति बैठकमा उनले एउटै पार्टीभित्र दुईवटा महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन्। कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को दलमा जाने जनप्रतिनिधिले पदसमेत त्याग्नुपर्ने उनको भनाइ छ। राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले अर्को दल रोजे विधानअनुसार कारबाही हुने चेतावनीसमेत उनले दिएका छन्।
तर, थापाले असन्तुष्ट पक्षसँग संवादको ढोका बन्द गरेका छैनन्। पार्टी एकता जोगाउन छलफल जारी राख्ने उनको भनाइ छ। पहिले देउवानिकट मानिएका सहमहामन्त्री जीवनबहादुर शाहीले पनि पार्टी विभाजन नगरी एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।
कांग्रेसको आधिकारिकता विवाद अदालतसम्म पुगिसकेको अवस्थामा देउवा पक्षको समानान्तर महाधिवेशनले पार्टीभित्रको शक्ति संघर्षलाई थप चर्काउने देखिन्छ। एउटा पक्षले आधिकारिक झण्डा र रुख चिह्न आफ्नो भएको दाबी गरिरहँदा अर्को पक्षको राजनीतिक भविष्य नै पार्टीको नाम र चुनाव चिह्नसँग जोडिएको छ।
देउवा समूहका लागि अहिलेको मुख्य चुनौती महाधिवेशन सम्पन्न गर्नु मात्र होइन, त्यसलाई कुन राजनीतिक पहिचानमा अघि बढाउने भन्ने पनि बनेको छ।
