सभामुखद्वारा लैनचौर निवासमा बस्न अस्वीकार, यस्तो छ कारण !


काठमाडौं । सभामुख देवराज घिमिरेले लेनचौरस्थित सरकारी निवासमा बस्न अस्वीकार गरेका छन् । ५ माघमा सभामुखमा निर्वाचित घिमिरेले सभामुखका लागि चाहिने सुविधा कम भएको भन्दै उनले सरकारी निवासमा सर्न अस्वीकार गरेका हुन् ।
सहरी विकासका कर्मचारीले सभामुखका लागि लैनचौरस्थित निवासमा फर्निचर, लजिष्टिकसहित व्यवस्थापनका सबै काम सकिएकाले सर्न भनेको एक साता बढी भइसक्यो । तर, सभामुख घिमिरेले साँघुरो निवासमा आफू नबस्ने जवाफ फर्काएपछि मन्त्रालय र संघीय संसद् सचिवालयका कर्मचारी अवाक भएका छन् ।
संसद् सचिवालयका आन्तरिक व्यवस्थापन शाखा प्रमुख त्रिविक्रम पराजुलीले भने,’सम्माननीयज्यूले लैनचौर निवास सभामुखका लागि उपयुक्त नभएकाले अन्यत्रै व्यवस्था गर्न भन्नुभएको छ । यो संसदको भन्दा पनि सहरी विकास मन्त्रालयको जिम्मेवारीभित्रको कुरा हो । सभामुखका लागि भनेर तोकिएको निवास हालका लागि लैनचौरकै निवास हो । हामीले उहाँलाई त्यहीँ बस्ने व्यवस्था मिलाएका छौं, किन सर्नुभएको छैन भन्ने कुरा हामीलाई जानकारी हुने कुरा भएन ।’
निवर्तमान सभामुख अग्नि सापकोटा सोही निवासमा बसेका थिए । सापकोटाभन्दा अघि उक्त निवास राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रयोग गर्दै आएका थिए ।