सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन् ।
आइतबार संघीय संसद् भवन परिसरमा पत्रकारहरु माँझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
आज राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गरे ।
उनले भने, ’सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा लागेको छ ।’ त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।
सर्वोच्च अदालतको फैसलापछि रास्वपालाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताए । उनले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन । भर्खरै सुनेँ । मैले बिहान उहाँसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन । मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो । फेरि हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं । मेरो कोसिस त थियो–राष्ट्रिय सहमति नै गरौं भनिराखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो ।’
प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आइतबार बिहान भएको भेटमा मन्त्रीहरु फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता नगर्ने बताएको पनि स्मरण गरे ।