खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन खानेपानीमन्त्री खानको आग्रह


काठमाडौँ – खानेपानीमन्त्री अब्दुल खानले खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन आग्रह गर्नुभएको छ ।
नेपाल खानेपानी संस्थाको ३४ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले कर्मचारीलाई उचालेर राजनीति गर्दा संस्थामा चुनौती आएको भन्दै संस्थानलाई राजनीतिको अखडा नबनाउन आग्रह गर्नुभएको हो । उहाँले राजनीति गर्ने भए फिल्डमा आउन कर्मचारीलाई चुनौती दिनुभयो ।
उहाँले अनावश्यक राजनीति गरे संस्थालाई युनियनमुक्त बनाइदिने चेतावनी दिनुभयो । अहिले व्यक्तिगत स्वार्थका लागि नभएर सहज रूपमा खानेपानी सेवा उपलब्ध गराउनका लागि केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । कर्मचारीको सेवा सुविधाका लागि बिनियमावलीको फाइल अघि बढाउन निर्देशन दिएको र अघि बढेको भन्दै उहाँले अर्थमन्त्रालय र मन्त्रीपरिषद्ले स्वीकृत नगरे आन्दोलन गर्न सुझाव दिनुभयो ।
त्यस्तै उहाँले संस्थालाई दिएको कर्तव्य पुरा गरे मात्रै अधिकारका लागि आन्दोलन गर्न सुहाउने धारणा राख्नुभयो ।