अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरी काम गर्न सक्नुपर्छ : सिके राउत


काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरी काम गर्न सक्नुपर्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले सरकारले गरेको कामकारबाहीलाई सहयोग गर्ने, सरकारले पठाएका विधेयकहरूलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरी अबको राष्ट्रपतिले काम गर्नुपर्ने बताउनुभएको हो ।
यसअघि नागरिकता जस्ता दुवै सदनबाट पारित भइसकेका विधेयकहरू राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौँ युवाहरू नागरिकता विहीन हुन पुगेको उहाँको भनाइ छ । राउतले राष्ट्रपति र सभामुख एउटै पार्टी हुँदा निरंकुशता जन्माउने आधारहरू रहेकाले आफ्नो पार्टीले काँग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिनुभयो । उहाँले अहिले पनि माओवादी कै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको पनि बताउनुभयो ।
अरू पार्टीहरूको विभिन्न कारणहरू रहेपनि जनमत पार्टीका लागि सरकार छाड्ने परिस्थिति नबनेको उहाँले बताउनुभयो ।