`

‘प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनपछि मात्र विश्वासको मत लिने’

Nepal One HD १६ फागुन २०७९ १६:४५
प्रमुख खबर

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिनुहुने भएको छ ।

अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने सरकारका प्रवक्ता रेखा शर्माले बताउनुभयो । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले यसअघि सरकारलाई समर्थन गरेका केही दलहरूले समर्थन फिर्ता लिइसकेको अवस्थामा संवैधानिक र कानुनी व्यवस्था अनुसार प्रधानमन्त्रीले समयभित्रै विश्वासको मत लिने बताउनुभयो । उहाँले राष्ट्रपति चुनाव नजिक आइरहेको अवस्थामा त्यसपछि मात्रै विश्वासको मत लिनका लागि तयारी भएको बताउनुभयो । प्रवक्ता शर्माले राष्ट्रपति चुनावपछि मात्रै मन्त्रीमण्डल पुनर्गठन हुने जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले जनयुद्ध र जनआन्दोलनका क्रममा मृत्यु भई शहीद घोषणा भई राजपत्रमा नामावली प्रकाशित हुन बाँकी रहेका शहीदहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिनुभयो । बैठकले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने एक सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता सम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यस्तै कर्णाली कोरिडोर ४ सय केभी प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्ले सरकारका सबै निकायका तथ्याङ्क एवं सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौँमा रहेको सरकारी एकीकृत डाटा केन्द्र र हेटौडामा रहेको डिजास्टर रिकभरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी २४ सै घण्टा नेटवर्किङ र साइवर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।


प्रतिक्रिया