`

नेविसंघका नेताबीच विवाद : सानेपाको पार्टी कार्यलय तोडफोड

Nepal One HD १९ फागुन २०७९ १६:३२
प्रमुख खबर

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै गर्दा नेवि संघका नेताबीच कुटाकुट भएको छ। 

संस्थापन समूह र संस्थापनइतर समूहबीच झडप भएको हो। झडकका क्रममा सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा तोडफोड भएको छ। तोडफोडबाट कार्यालयमा सामान्य क्षति पुगेको छ। सीसा,ल्यापटप लगायतमा क्षति पुगेको छ। 

नेवि संघका नेता विनोद शाही ठकुरीले संस्थापन समूहले एकलौटी गरेकाले विवादको अवस्था सिर्जना भएको बताए। ठकुरीले अन्नपूर्णसँग भने, ‘त्रिवीले बैठक डाकेको थियो। त्रिविले बोलाएको छलफलमा शेखर कोइराला समूहका प्रतिनिधि सहभागी थिए। बैठकमा दुवै पक्ष उपस्थित भएपछि झडपको स्थिति भएको हो।’

इतरसमूहका नेता शाहीले समयमै पार्टीले भातृ संस्थालाई पूर्णता नदिएकाले विवाद उत्पन्न भएको बताए।

नेवि संघको बैठक टौदह रिसोर्टमा थियो। बैठकपछि असन्तुष्ट इत्तरसमूह पार्टी कार्यालय पुगेर तोडफोडमा उत्रिएको हो। घटनामा शिव रिमाल, हरि आचार्य, डा.श्यामचन्द्र अधिकारी घाइते भएका छन्।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा पक्षले आफ्ना कार्यकर्तालाई कुटेको इतरपक्षको आरोप छ। शेर्पाले त्रिविमा केन्द्रीय प्रतिनिधिका रुपमा पदम भट्टराईलाई तोकेका थिए। कोइराला समूहले पनि त्रिविमा प्रविण कैनीलाई प्रतिनिधिका रुपमा खटाएको थियो।

विवाद समाधान भइसकेपछि केही व्यक्ति प्रवेश गरी आक्रमण गरेको शेखर समूहका एक विद्यार्थी नेताले बताए।


प्रतिक्रिया