पूर्णबहादुर खड्काले भने : जसपालाई उपराष्ट्रपति दिने निर्णय भएको छैन


काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन् ।
शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शनपछि उनले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि अब छिट्टै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए ।
‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन्। प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ । सम्बन्धित दल र नेताहरूको बैठक बोलाएर औपचारिक रूपमा निर्णयमा पुग्छौं । दलहरूको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ । जसपालाई उपराष्ट्रपति दिने कुरा ८ दलको बीचमा प्रवेश गरिसकेको छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्’, उनले भने ।
खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेस सहितको गठबन्धन भत्किएको स्वीकार गरेका छन् । नेपाललाई रूपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरू मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमति अनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किए पनि आन्तरिक रूपमा सच्याएर अघि बढेको उनको भनाई छ ।
उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरूबीचमा आन्तरिक रूपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीबार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको बताए ।